गुल्जार बन्दै छ चुरे फेदी

गुल्जार बन्दै छ चुरे फेदी

मदन भण्डारी राजमार्गले चुरे फैदीमा नयाँ सहर निर्माण र आफ्नो पुरानो विरासत फर्काउने माैका पनि दिएकाे छ


काठमाडौँ ।

बाटो, यातायात, पारवहन कुनै पनि मुलुकका लागि जीवनरेखा हो । विकासको मेरुदण्ड हो । अझ नेपालजस्तो भौगोलिक अवस्था भएको मुलुकका लागि सडक राष्ट्रिय अर्थतन्त्रको आधार नै हो ।

आजको आधुनिक युगमा सडकबिना आवागमन, कनेक्टिभिटीको कल्पना त गर्न सकिँदैन नै, सडक सञ्जालबिना मुलुक र जनताको आर्थिक उन्नति पनि उत्तिकै कठिन छ । सहज कनेक्टिभिटीका लागि सरकारले यातायातका अनेक विकल्पमा लगानी गरिरहेको छ ।

सहज यातायातका लागि जल, स्थल र हवाई माध्यम अपनाइन्छ । नेपालले पनि यातायातका यी तीनै विकल्पलाई सम्भव भएसम्म प्रयोगमा ल्याएको छ ।

देशको आर्थिक क्षमता, भूगोल र जनताको बसोबास क्षेत्र समेतलाई हेर्दा नेपालले भरपर्दो विकल्पका रूपमा सडक सञ्जालको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

मुलुक लामो समयदेखि एकल राष्ट्रिय राजमार्गमा भर पर्दा देश र जनताको विकास एवं उन्नतिमा चाहेजस्तो प्रगति गर्न नसक्नु स्वाभाविक हो । पछिल्ला वर्षहरूमा भने सरकारले राष्ट्रिय राजमार्गहरूको विकल्प तयार गर्न थालेको छ ।

त्यसैको अवधारणाअनुसार पूर्व–पश्चिम क्षेत्रमा सहज आवागमनका लागि मदन भण्डारी राष्ट्रिय राजमार्ग बनाउने निर्णय लिइयो । र, अहिले धमाधम निर्माणको चरणमा छ । यो राजमार्ग पूर्ण रूपमै नयाँ बन्ने नभई पहिले नै सञ्चालनमा रहेका विभिन्न टुक्रा–टुक्रा सडकलाई जोडिएको छ । धेरैजसो सडकखण्डमा चौडाइ बढाएर कम्तीमा २ लेनको बनाइनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्ग, जसलाई चुलाचुली चुरे राजमार्ग पनि भनिन्छ, करिब १२५० किलोमिटर लामो नेपालको पूर्व मेचीदेखि चुरेभावर, भित्री मधेस हुँदै पश्चिम महाकालीसम्म पुग्ने राष्ट्रिय परियोजना हो । महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व–पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको छ ।

झापा बाहुनडाँगीबाट सुरु भई शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बिपीनगर, सहजपुर, जोगबुडा हुँदै रूपालसम्म पुग्ने राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारबाट स्वीकृत भई विभिन्न खण्डमा विभक्त गरी निर्माण भइरहेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ जेठ ६ गतेको निर्णयअनुसार सरकारले मदन भण्डारी राजमार्ग आयोजनालाई आर्थिक वर्ष २०७५/७६ देखि कार्यान्वयनमा ल्याएको हो ।

राजमार्गको पूर्वी खण्डअन्तर्गत भने सुनसरी, मोरङ, झापा र इलाम जिल्ला पर्छन् । झापाको दमकस्थित कार्यालयले यस खण्डको करिब १२८ किलोमिटर क्षेत्रको नेतृत्व लिएर सडक निर्माण गरिरहेको आयोजना प्रमुख सुबोध देवकोटा बताउँछन् । जसमा साना–ठुला गरेर ३७ वटा त पुल नै बनाउनु पर्नेछ ।

देवकोटाले भने, ‘यस आयोजनाअन्तर्गतको पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा सुनसरी धरानको सर्दुखोलासम्म पर्ने सडक र पुलको काम धमाधम भइरहेको छ । तर, यसबीचमा पर्ने केही जंगलका रूख कटानी र बस्ती व्यवस्थापन भने आयोजनाका लागि थोरै चुनौतीका रूपमा देखापरेका छन् ।’

उनले थपे, ‘आयोजना क्षेत्रमा पर्ने जंगलको रूख कटानीका लागि अनुमति लिने काम सम्पन्न भइसकेको छ । यसका लागि दोहोर्‍याएर वातावरणीय प्रभाव मूल्यांकन पनि गरिसकिएको छ । रूखहरूमा चिह्न लगाउने काम पनि भएको छ । करिब ६ हजार हाराहारी रूख कटानको अनुमति पाउनेबित्तिकै रोकिएको काम पनि फटाफट हुनेछ ।’

वनसँग जोडिएका कार्यालयका अधिकारीहरूसँग समन्वय गरेर समाधान खोजिएको बताएको आयोजनाले वन क्षेत्रमा पर्ने ठुला पुलबाहेक सानातिना कल्भर्टहरू भने बनाइसकेको छ । पुलतर्फ १५ वटा ठेक्का लागिसकेको छ । जसको कार्य प्रगति ८० प्रतिशतभन्दा माथि छ ।

४ वटा पुल त निर्माण भइसकेका छन् भने ३३ वटा पुल निर्माणाधीन छन् । सडक निर्माणका लागि ठेक्का लगाइएका अधिकांश क्षेत्रको काम धमाधम भइरहेको छ । कतिपय खण्डमा कालोपत्रसम्मको काम पनि सम्पन्न गरिएको छ । कतिपय खण्डमा कालोपत्रका लागि पूर्ण तयारी गरिएको छ ।

आयोजनाका अनुसार २०७८ साउनमा काम थालनी गरिएको आयोजनामा ७ वटा ठेक्कामार्फत् ९६ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भइसकेको छ । कमल खोलादेखि शहादत स्थलसम्मको ३२ किलोमिटर सडकखण्डमा भने ठेक्का व्यवस्थापन हुन बाँकी छ । ठेक्का व्यवस्थापन भएको क्षेत्रको कामको प्रगतितर्फ भौतिक रूपमा ६५ तथा आर्थिक रूपमा ६४ प्रतिशत भएको देखिन्छ ।

पूर्वमा झापाको बाहुनडाँगीदेखि सुदूरपश्चिममा डडेल्धुराको रूपालसम्म जोड्ने यस राजमार्गको पूर्वी खण्डले गरेको कामको प्रगति हेर्दा सडक तोकिएको समय सीमाभित्र सम्पन्न गर्न सकिने सम्भावना देखिएको केन्द्रीय कार्यालय मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबाट अनुगमनमा पुगेका बेलबहादुर भुजेल बताउँछन् ।

भुजेलले विकास टाइम्ससँग भने, ‘सडकखण्डको कार्य प्रगति राम्रो देखिएको छ । अधिकांश पुल निर्माणको अन्तिम चरणमा देखिए । सडक निर्माण, विस्तार र कालोपत्र गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको देखियो ।’

आर्थिक वर्ष २०८१/०८२ सम्ममा सम्पन्न गर्ने लक्ष्यमा भने राजमार्ग खण्डमा पर्ने वन–जंगलका रूख कटानीले आयोजना ढिलो हुने हो कि ! भन्ने आशंका रहेको भुजेलले जानकारी दिए ।

उनले भने, ‘सडकखण्डमा पर्ने रूख कटानीका कारण निर्माण थोरै ढिलो भएको देखियो । तर, रूख कटानीका लागि स्थानीय र केन्द्रीय दुवै तहबाट पहल भइरहेकाले चाँडै निकास निस्किनेछ । त्यसपछि भने रोकिएको सडक र पुल निर्माणको काम पनि फटाफट हुनेछ ।’

सडकखण्डमा परेका केही बस्ती हटाउने सहमति हुनासाथ बस्तीका कारण रोकिएको काम पनि चाँडै सम्पन्न हुने उनले बताए । सडक परियोजनाहरू फगत सडकमा सीमित रहन हुन्न र यसले त्यस आसपास बस्ने आमजनताको जीवनस्तर र आर्थिक उन्नतिमा टेवा पुर्‍याउन सक्नुपर्छ भन्नेमा आयोजना सतर्क देखिन्छ ।

आयोजना जाने क्षेत्रमा बढेको कृषिसहितको आर्थिक गतिविधिले त्यस क्षेत्रको आर्थिक उन्नति र स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको आयोजना प्रमुख इन्जिनियर देवकोटाले बताए ।

विकास परियोजनाहरू समयमा सम्पन्न नहुने, विनियोजित बजेट नै खर्च गर्न नसकेर तोकिएको कामको प्रगति देखाउन नसक्ने रोगबाट यो आयोजना अलग देखिएको छ । बरु छुट्ट्याइएको बजेटले नपुगेर रकमान्तर गरी ल्याएर २०० देखि ३०० प्रतिशतसम्म बढी काम सम्पन्न गरिएको आयोजनाका चार्टर्ड एकाउन्टेन्ट नारायणप्रसाद दुलालले बताए । उनका अनुसार पूर्वी खण्डको सडकको काम हेरिरहेको दमक कार्यालयमार्फत् मात्रै हालसम्म आयोजनाले ६ अर्ब ५० करोड रूपैयाँ खर्च गरेको छ ।

सडक आयोजना क्षेत्रमा पर्ने पुल–पुलेसाहरूको कामको प्रगति पनि उत्तिकै गतिमा भइरहेको छ । सडक बन्ने तर पुल समयमै नबनेर आयोजना अलपत्र पर्ने अन्यत्रका अनुभवप्रति सचेत रहँदै कार्यालयले पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई कामको प्रगतिका लागि हरदम ताकेता गरिरहेको र यसको राम्रो प्रभाव देखिएको आयोजनाका इन्जिनियर पुरुषोत्तम भण्डारीले जानकारी दिए ।

स्थानीय उपभोक्ता, स्थानीय सरकार र सरोकारवालाबीच हार्दिक समन्वय हुन नसक्दा कतिपय आयोजना विवादमा फस्ने, द्वन्द्वका कारण वर्षौँवर्ष बन्न नसक्ने रोगबाट ग्रसित छन् । तर, यस आयोजनाका अधिकारीहरूले सडक परियोजना क्षेत्रमा पर्ने स्थानीय तहसँग पनि निकै सुझबुझपूर्ण ढंगले समन्वय गरेर काम गरिरहेको र आफूहरू सन्तुष्ट रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

आयोजना स्थलमा पर्ने मिक्लाजुङ गाउँपालिका मोरङका अध्यक्ष बबिकुमार राईले भने, ‘हामीले धेरे आयोजनाको काम देख्यौँ, अधिकारीहरू पनि भेट्यौँ । तर, यस आयोजनामा आएका वर्तमान प्रमुखसहितका अधिकारीहरूले स्थानीय तहसँग राम्रो समन्वय गरेर काम गरिरहेका छन् । हामीले पनि आयोजनामा देखिएका समस्या सुल्झाउन सघाएका छौँ । सडक मार्गमा पर्ने बस्ती हटाउनका लागि हामीले सक्दो सहयोग पनि गरेका छौँ ।’

मोरङको लेटाङ गाउँपालिका–२ का वडाध्यक्ष तेजप्रसाद तिमिल्सिनाले पनि आयोजनाले राम्रो समन्वय गरेर काम गरिरहेको बताए । आयोजनाले राम्रो समन्वय गरेकै कारण स्थानीय तहमा आयोजनाप्रति अपनत्व रहेको र थोरै असहजता सहेर पनि सडक मार्ग निर्बिघ्न निर्माणमा स्थानीयले साथ दिइरहेको उनले बताए ।

यस परियोजना फगत एउटा बाटोका रूपमा मात्र सीमित नभई यसले चुरे फेदीमा राष्ट्रिय राजमार्गको विकल्प त दिएकै छ, त्यस अलवा नयाँ सहर निर्माण र आफ्नो पुरानो विरासत फर्काउने मौका पनि उपलब्ध गराएको छ ।

राजमार्ग सम्पन्न भएसँगै यहाँ आर्थिक गतिविधि ह्वात्तै बढ्नेछ । कृषि उपजले सहज बजार पाउनेछ भने जनताको स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा पनि सहज पहुँच बढ्नेछ । जसमा आयोजनाका अधिकारीहरूदेखि स्थानीय सरकारका जनप्रतिनिधिहरू र स्थानीयबासी सहमत देखिन्छन् ।

कुनै समयका गुल्जार बस्तीहरू पूर्व–पश्चिम भएर महेन्द्र राजमार्ग बनेपछि बिरानो बनेको आफ्नो स्थान फेरि पुरानै स्वरूपमा ब्युँतिन लागेकामा स्थानीय उत्तिकै हर्षित र खुसी छन् । उनीहरू आफ्नो पुरानो विरासत फेरि ब्युँतिनेमा निकै नै आशावादी देखिए । यसका लागि उनीहरू सरकारप्रति कृतज्ञ पनि देखिए ।

जनताको जनजीवन सहज र सम्पन्न बनाउने सरकारले देशैभरि यस्ता सडक आयोजना निर्माण गरिरहेको छ । जहाँ–जहाँ सडक यातायातको सञ्जाल पुगेको छ, ती स्थानले क्रमशः कोल्टे फेर्दै गएका छन् । सहरीकरण बढेको छ, आर्थिक उन्नतिका लागि अवसरहरू उपलब्ध भएका छन् । कृषिमै आधारित बस्ती र मानिसहरूले आफ्ना उपजलाई सहरसम्म सहजै पुर्‍याउन पाएका छन् । अझ सडक आवागमनले समयमै स्वास्थ्य केन्द्र र अस्पतालमा पुग्न नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने जस्तो नियतिलाई तोडिदिएको छ ।

कृषिमा व्यावसायीकरण र विविधीकरण गर्दै साना घरेलु उद्योगहरूमार्फत् नै पनि आर्थिक उन्नतिका ढोकाहरू खुल्दा बालबालिकाले राम्रो शिक्षादीक्षाको अवसर पाएका छन् । महिलामा आत्मविश्वास र आर्थिक पहुँचको बाटो खोलिदिएको छ । ज्येष्ठ नागरिकले उचित स्वास्थ्योपचार, स्याहार र राम्रो जीवन स्तरमा रम्न पाएका छन् ।

चुरे फेदी हुँदै पूर्व–पश्चिम दौडिने यस मदन भण्डारी राजमार्गबाट पनि आमनागरिकले यिनै सुविधा र अवसर त पाउने नै छन्, त्यसका साथै राष्ट्र निर्माणमा यो सडक एउटा सेतु बन्ने निश्चित छ ।