सेन्सर बोर्ड खारेज गरी प्रमाणीकरण समिति राख्ने सञ्चारमन्त्री खरेलको घोषणा

सेन्सर बोर्ड खारेज गरी प्रमाणीकरण समिति राख्ने सञ्चारमन्त्री खरेलको घोषणा


सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रमा वर्षौँदेखि कायम रहेको ‘सेन्सर बोर्ड’ (सेन्सर प्रणाली) को अवधारणालाई खारेज गरी त्यसको सट्टा ‘प्रमाणीकरण समिति’ राख्ने घोषणा गरेका छन् ।

चलचित्र विकास बोर्डले शुक्रबार आयोजना गरेको ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खरेलले नयाँ बन्ने ऐनमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । सेन्सर बोर्डले नियन्त्रण गर्न खोजेको भन्ने चलचित्रकर्मीहरूको गुनासोलाई सम्बोधन गर्दै अब बन्ने समितिमा सरकारी कर्मचारीको हालीमुहाली अन्त्य हुने मन्त्री खरेलको भनाइ थियो ।

‘अब बन्ने प्रमाणीकरण समितिमा मन्त्रालयको कर्मचारी अध्यक्ष रहने छैनन् । चलचित्र क्षेत्रकै विज्ञ मान्छे अध्यक्ष भएर आउँछ’, मन्त्री खरेलले भने– ‘समिति ७ वा ९ सदस्यीय जे भए पनि त्यसमा बहुमत सदस्य चलचित्र क्षेत्रकै हुनेछन् ।’

यो केवल भाषण नभएर नयाँ विधेयकको ५३ वटा दफामध्ये एउटा महत्त्वपूर्ण बुँदाका रूपमा व्यवस्था गरिसकिएको उनले प्रस्ट पारे । वि.सं २०२६ सालमा बनेको पुरानो ऐनलाई नयाँ ऐनले प्रतिस्थापन गर्न लागिएको जानकारी दिँदै मन्त्री खरेलले नयाँ ऐन चलचित्रकर्मी र जनताको हितमा हुने दाबी समेत गरे ।

‘हामीले सरोकारवालाहरूले दिएका ८० प्रतिशतभन्दा बढी सुझावहरूलाई नयाँ विधेयकमा समेटेका छौँ । यो ऐन अग्रगामी र आधुनिक हुनेछ’, मन्त्री खरेलले भने– ‘राष्ट्रियसभाबाट पारित हुने चरणमा रहेको यो विधेयकले बोर्डलाई पूर्ण रूपमा स्वायत्त र स्वतन्त्र बनाउने छ ।’

मन्त्री खरेलले अब बन्ने कानुनमा ‘टेलिचलचित्र’ (टेलिफिल्म) लाई पनि समेट्न निर्देशन दिइएको बताउँदै हरेक चलचित्रकर्मीको जननी टेलिचलचित्र नै भएको भन्दै बोर्ड र समितिका हरेक क्षेत्रमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गराउन निर्देशन दिए ।

कार्यक्रममा ज्येष्ठ तथा वरिष्ठ कलाकारहरूको सुरक्षाका लागि ३ करोड रुपैयाँको नयाँ वृत्ति कोषको व्यवस्था गर्न लागिएको समेत मन्त्री खरेलले जानकारी दिए । ‘जवानी रहुन्जेल सबैले प्रशंसा गर्छन्, तर दुःखको बेला राज्यले हेर्नुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि अर्थमन्त्रीसँग सैद्धान्तिक सहमति भइसकेको छ’ उनले थपे ।

कार्यक्रममा मन्त्री खरेलले चलचित्रकर्मीहरूलाई राजनीतिक दलको ‘हनुमान’ वा ‘दास’ नबन्न आग्रह समेत गरे ।