आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छः सञ्चारमन्त्री खरेल

आगामी निर्वाचनमार्फत परिवर्तनका आधार तयार गनुपर्छः सञ्चारमन्त्री खरेल


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २० औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री खरेलले भन्नुभयो, “मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व ल्याउनुपर्छ, अब पुरानै प्रवृत्तिलाई नदोरिने अवस्था निर्माण गर्न आवश्यक छ ।”

उहाँले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताउनुभयो । मन्त्री खरेलले दल र नेताको दबाब तथा प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले इक्यानसँग आफू पत्रकार हुँदादेखि सहकार्य गरेको उल्लेख गर्दै आफू जुनसुकै पद र पेसामा भए पनि सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो । मन्त्री खरेलले इक्यानले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आबद्ध व्यवसायीले देशको अर्थतन्त्रमा सहयोग गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा इक्यान अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।