प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीले चिनेको नाम हो। भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनको विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलिएको थियो। आइतबार ४२ वर्षको उमेरमा कार्डियक अरेस्टका कारण उनले संसार छाडे। आइतबार बिहानै आएको यो खबरले दार्जिलिङसहित विश्वभरका नेपाली भाषीलाई स्तब्ध बनाएको छ।
नेपाली भाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाएर विजेता बन्न सक्छ भन्ने उदाहरण बनेका तामाङ, विजेता बनेपछि त्यस्ता कार्यक्रममा नेपाली भाषीको सहभागिता र सफलता निरन्तर रहँदै आएको छ। ‘इन्डियन आइडल’को अन्तिम १२ मा परेपछि उनको चर्चा नेपालसहित विश्वभरका नेपालीबीच चुलिएको थियो।
उत्कृष्ट १० मा परेपछि नेपालीहरूले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सो अभियानमा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी सक्रिय रूपमा जोडिए। नेपाली भाषीले पाएको ठूलो उपलब्धि भएकाले दार्जिलिङ पुगेर अभियानमा सहभागी भएको घतानी बताउँछन्।
घतानीका अनुसार अन्तिम १० मा परेपछि केही साथीहरू लिएर दार्जिलिङमा कार्यक्रम आयोजना गरियो। ती कार्यक्रमबाट संकलित रकम मतदातामा खर्च गरिएको थियो। त्यस समयमा निर्माता घतानीसँगै हेयर डिजाइनर निल डेविड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत दार्जिलिङ पुगेका थिए। छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी र कलाकार विल्सन विक्रम राई पनि सहभागी थिए।
उदयीमान कलाकारलाई लिएर कार्यक्रम गर्दै सहयोग जुटाउने कामले नेपालसहित विश्वभरका नेपालीबीच चर्चा पायो र अभियानकै रूपमा अगाडि बढ्यो। अन्तिम तीनमा परेपछि गृह जिल्लामा लैजाने कार्यक्रमअनुसार तामाङ नेपाल आएका बेला घतानीसँग भेट भयो। त्यो भेट क्रमशः नजिकको सम्बन्धमा परिणत भयो र दाजुभाइ जस्तै सम्बन्ध विकास भयो।
घतानीका अनुसार तामाङ अत्यन्त सरल र शान्त स्वभावका थिए। विश्वव्यापी चर्चाका बाबजुद उनीमा घमण्ड थिएन। उनी नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत नेपाली फिल्मसँग जोडिए, जसमा दीपक श्रेष्ठले सबै गीतमा तामाङकै स्वर प्रयोग गरेका थिए। भारतमा स्वर रेकर्ड गरेपछि निर्देशक श्रेष्ठले उनको खुलेर प्रशंसा गरेका थिए।
निर्देशक श्रेष्ठका अनुसार विश्वभरका नेपालीले माया गरेको स्वर नेपाली चलचित्रमा ल्याउनुपर्ने सोचका साथ पहिलो पटक उनलाई पार्श्व गायनमा ल्याइएको थियो। उनको सरलता, नेपाली गीत–संगीतप्रतिको माया र विनम्र स्वभावले सबैलाई प्रभावित बनाएको थियो।
पार्श्व गायनपछि तामाङले अभिनेताको रूपमा चलचित्र ‘गोर्खा पल्टन’बाट अभिनय यात्रा सुरु गरे। सो चलचित्रमा उनले निर्वाह गरेको लाहुरेको भूमिकासहित ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ गीत निकै लोकप्रिय बन्यो।
त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ र ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे। गएको ५ मंसिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनको अन्तिम नेपाली चलचित्र बन्यो।
अभिनय सुरुआत गरेपछि उनले आफूलाई गायकभन्दा पनि अभिनेताका रूपमा अगाडि बढाए। ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको सिरिज ‘पाताल लोक’मा देखिएपछि भारतमा पनि अभिनेताका रूपमा उनको चर्चा बढ्यो।
त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गरे। भारत–चीनबीचको गलवान झडपको कथामा आधारित उक्त चलचित्र विसं २०८३ वैशाख ४ गते प्रदर्शन हुने तयारीमा छ। छायांकन सकेर उनी स्वरांकनको तयारीमा थिए।
दिल्लीस्थित घरमा आराम गरिरहेका बेला उनले अन्तिम सास लिए। कोभिड–१९ का कारण आमा गुमाएपछि उनी परिवारलाई धेरै समय दिन थालेका थिए। श्रीमती काम विशेषले बाहिर रहँदा तीन वर्षकी छोरीको हेरचाह गर्दै समय बिताउने गर्थे। एयरहोस्टेस भएकी श्रीमतीका कारण छोरीको रेखदेखको जिम्मेवारी प्रायः उनकै काँधमा थियो।
आमा गुमाएपछि छोरीलाई कहिल्यै एक्लो नछाड्ने स्वभाव बनाएका उनी, कार्यक्रमका प्रस्ताव पनि छोरी र परिवारलाई समय दिन नसक्ने अवस्थामा अस्वीकार गर्ने गर्थे। छोरीमा आमाको प्रतिबिम्ब देख्ने गरेको कुरा उनी आफैंले बताउने गर्थे।
कोभिड–१९ कै समयमा आमा बित्दा उनी स्वयं पनि संक्रमित थिए र आमाको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। यही पीडाले परिवारप्रतिको माया अझ गहिरो बनाएको थियो। उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका थिए भने सन् २०२२ मा छोरी जन्मिएकी थिइन्।
तामाङको पार्थिव शरीर जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि हुँदैछ ।

प्रतिक्रिया