चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका– ६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् ।
विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही २९ पुसदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’
ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै, आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छिन् । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सिर्जनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका– ६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोरेका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् ।
काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’
सानैदेखि पेन्टिङप्रति रुचि राखेकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।
‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी– ८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।
चौधरीले भनिन्,, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’
सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा निहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।

प्रतिक्रिया