चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन् । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन् ।
चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उनको भनाइ छ ।
“निर्माणका हिसाबले मिरमिरे मेरो पहिलो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन प¥यो,” रोहित भन्छन्, “एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।”
बाबु र छोरीबीचको कथाले आफूलाई ‘टच’ गरेको रोहित बताउँछन् । “यो हामी सबै नेपालीको कथा हो । घरघरको कथा हो,” उनी भन्छन्, “हामी धेरै नेपालीले भोगेको र देखेको कथा हो । त्यसैले मलाई सुन्नबित्तिकै यो कथा मन परेको हो ।”
राम्रो कथामा चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहेको उनी बताउँछन् । कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको रोहितको भनाइ छ ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

प्रतिक्रिया