नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताएकी छन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको बताईन् ।
उनले भनिन्,’नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।’
निर्देशक सुदिप्ताले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताईन् । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेकी छन् । यस चलचित्रमा उनी अभिनयसँगै कार्यकारी निर्माताका रूपमा पनि छन् ।
‘मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्माताका रुपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने ऊर्जावान् समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले पनि प्रस्ट्याउँछ, अभिनेत्री शर्माले भनिन्।
यसै चलचित्रमार्फत गायनमा स्थापित भएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत भएका छन् । प्रायः आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिनुहुने गायक श्रेष्ठले यसपटक अभिनेताको नयाँ परिचय थपेका छन् ।
उनले भने, ‘मैले अभिनय गर्ने सोच बनाएको थिएँ, तर सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।’
श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताए । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगित, थिन्ले लामो लगायत कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पारेकी हुन् हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया