मुस्ताङमा उम्मेदवार मतदाता काठमाडौ पोखरामा

मुस्ताङमा उम्मेदवार मतदाता काठमाडौ पोखरामा


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा मुस्ताङका उम्मेदवारलाई भने मतदाता खोज्ने पिरलो छ । केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसे झैँ भएको छ ।
यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाख–जेठ र कात्तिक–मङ्सिर महिनामा हुने गरे पनि यसवर्ष जेन्जी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्ने सकस परेको हो । हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक र मङ्सिर महिनामा बेसी झरेर चैत–वैशाख महिनामा गर्मी सुरु भएपछि उक्लिने परम्परा छ ।
यहाँका कतिपय मतदाता पोखरा र काठमाडौँ लगायतका स्थानमा अस्थायी बसोबास गरेका छन् । मुस्ताङमा बर्सेनि हिउँदयाममा जाडो छल्न बेसी झर्ने पुख्यौली परम्परा र संस्कृतिको रुपमा चल्दै आइरहेको छ । मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेकाले यहाँको दलहरुको निर्वाचन गतिविधिमा कमी आएको हो । जिल्लास्थित नेपाल–चीन सीमावर्ती गाउँपालिका अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत मतदाता मङ्सिर महिना अगावै जाडो छल्न बेसीमा झरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
आसन्न निर्वाचन नजिकिँदै गरे पनि मतदाता बेसीमै रहेकाले जिल्लामा निर्वाचनको सरगर्मी नतातिएको अध्यक्ष विष्टको भनाइ छ । यतिबेला माथिल्लो मुस्ताङका मतदाता मात्रै होइन तल्लो मुस्ताङका करिब ५० प्रतिशत भन्दा बढी मतदाता जाडो छल्न बेसी झरिसकेका छन् । पर्यटकीय ‘अफसिजन’ र कतिपय किसान स्याउ बगँैचा व्यवस्थापन सकेर तल्लो क्षेत्रका मतदाता बेसीमा झरेका हुन् ।
आसन्न निर्वाचनका लागि दुई साताअघि विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयपत्र दाखिला गरेपनि उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि सुस्त छ । जिल्लामा मतदाता कम भएपछि राजनीतिक दलका उम्मेदवार मतदाता खोज्न बेसीमा झरिसकेका छन् । तर, यहाँ स्थानीय मतदाता र राजनीतिक दलका उम्मेदवार नभए पनि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आफ्नो आन्तरिक निर्वाचन तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
उनले सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको व्यवस्थापन र तालिम अगाडि बढाएको र जिल्लास्थित सुरक्षा समितिले मतदान केन्द्र तथा मतदानस्थलको निरन्तर अनुगमन गरिरहेको बताए । निर्वाचनका लागि निर्वाचन सुरक्षा योजना तयार भइसकेको निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गरे ।
जिल्लाका अधिकांश मतदाता यतिबेला पोखरा र काठमाडौँ लगायतका स्थानमा रहेकाले निर्वाचनको मितिमा मतदातालाई जिल्ला फर्काउन समस्या रहेको राजनीतिक दलका प्रतिनिधि र उम्मेदवार बताउँछन् । निर्वाचन कार्यतालिका रहेपनि जिल्लाका कतिपय मतदाता निर्वाचनको समयमा जिल्ला फर्किन तयार छैनन् ।
फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले यहाँका मतदाता वैशाख महिनामा मात्रै जिल्ला फर्किने योजनामा छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले आफू र आफ्नोतर्फबाट निर्वाचन प्रचारप्रसारको काम सुरु गरिनसकेको जानकारी दिए । हिमालका मतदाता बेसीमा रहेकाले बेसीमै बसेर मतदातासँग सामान्य रुपमा भेटघाट गरेको बताए ।
‘मुस्ताङमा जाउ सुनसान छ, सबै मतदाता बेसीमै हुनुहुन्छ,’ उनले भने, ‘मतदाता जिल्लामा नफmर्किएसम्म जिल्लामा निर्वाचनको सरगर्मी चल्दैन, यसैले फागुन लागेपछि मात्रै जिल्ला फर्किएर प्रचारप्रसारमा जुट्छु होला ।’
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार अधितीयचन्द्र थकाली पनि जिल्लाका मतदाता भेट्न बेसी झरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ जिल्लाको निर्वाचन प्रचारप्रसारका लागि काठमाडौँ पुगेको बताए ।
जिल्लामा आठ राजनीतिक पार्टीहरुले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ पाँच स्थानीय तहमा ११ हजार ३ सय २८ मतदाता छन् भने मतदानका लागि ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम भएको छ।