काठमाडौ । नेपाली चलचित्र जगतका वरिष्ठ तथा चर्चित अभिनेता सुनिल थापाको हृदयघातका कारण निधन भएको पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार बिहान गरिएको पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारण मुटुको नसा ब्लक भएर भएको हृदयघात रहेको देखाएको छ।
अस्पताल स्रोतका अनुसार, ‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ।’ पोस्टमार्टम पूरा भएपछि उनको शव अस्पतालबाट निकालिएको छ। श्रद्धाञ्जलीका लागि शवलाई चलचित्र विकास बोर्डमा राखिने व्यवस्था मिलाइएको छ।
६८ वर्षीय थापाको निधन शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएको थियो। बिहान अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्दा उनी अचेत अवस्थामा थिए। अस्पताल स्रोतका अनुसार बिहान करिब ७:४४ बजे इसिजी (ECG) गर्दा मृत घोषणा गरिएको थियो। प्रारम्भिक अनुमान हृदयघात वा कार्डियाक अरेस्ट रहेको बताइएको थियो, जुन पोस्टमार्टम रिपोर्टले पनि पुष्टि गरेको छ।
थापा नेपाली सिनेमाका ‘रेटे कैला’ जस्ता लोकप्रिय भूमिकाका लागि चर्चित थिए। उनले नेपालीसँगै भारतीय चलचित्र र अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गरेका थिए। विशेष गरी प्रियंका चोपडाको ‘मेरी कोम’ मा उनको प्रशिक्षकको भूमिका र ‘द फेमिली म्यान’ सिरिजमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चार दशकभन्दा लामो अभिनय यात्रामा उनले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
उनको निधनले नेपाली चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको कलाकार संघ र सिने क्षेत्रका व्यक्तित्वहरूले बताएका छन्। परिवार, कलाकार तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
उनको अन्त्येष्टि परिवारको इच्छा र परम्पराअनुसार हुने बताइएको छ

प्रतिक्रिया