चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आउँदैछ । धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ ।
जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन् ।
जटाधारी पात्र हुन्, प्रवीण खतिवडा । ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा चलचित्रको कथा केन्द्रित छ ।
उक्त शिला खोज्ने क्रममा हुने घटनाको वरिपरि चलचित्रको कथा घुम्छ ।
आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । कथावाचनमा प्रवीणलाई तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले सहकार्य गरेका छन् ।
अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्र आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।
‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।
‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश’ले दर्शकलाई नयाँपन दिने निर्माणपक्षको विश्वास छ ।
महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको यो चलचित्रले यो समाचार तयार पार्दासम्म देशभरका मल्टीप्लेक्सहरूले उपलब्ध गराएको शो तथ्याङ्क अनुसार शुक्रबारका लागि यस चलचित्रले देशभर कुल ९७ शो प्राप्त गरेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो आउटलेटमा चलचित्र ‘शिवांश’लाई १३ शोज उपल्ब्ध गराएको छ । यसले काठमाडौं उपत्यकाका हलमा ५ शो पाएको छ भने मोफसलमा ७ शो पाएको छ ।
यसैगरि, चलचित्र ‘कुमारी’लाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ४ वटा आउटलेटमा ४ शो, वान सिनेमाजका २ वटा आउटलेटमा २ शो, बिग मुभिजले २ शो र एफक्युब सिनेमाले १ शो दिएका छन् ।

प्रतिक्रिया