अब कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने डा. शेखरको जिम्मेवारी

अब कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने डा. शेखरको जिम्मेवारी

१२ बुँदे समझदारीको पर्दापछाडिको 'सेतु', अब कोइराला विरासतको मुख्य संरक्षक


विराटनगर । विराटनगरको पुरानो बस्तीमा उभिएको कोइराला निवास कुनै साधारण घर थिएन । आन्दोलनकारीको मुकाम थियो, रणनीतिको कार्यशाला थियो र प्रजातन्त्रका सपना बुन्ने थलो थियो । त्यही घर गत २४ भदौमा प्रदर्शनकारीको आगजनीमा पर्‍यो । घर जले पनि त्यसले बोकेको इतिहास मेटिएको छैन ।
विराटनगरको जुट मिलदेखि काठमाडौंको सुन्दरीजल जेलसम्म, दिल्लीका गल्लीदेखि बालुवाटारको शक्तिकेन्द्रसम्म । आधुनिक नेपालको राजनीति कोइराला परिवारबिना अपूर्ण देखिन्छ । बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला, तीन दाजुभाइ–तीन प्रधानमन्त्री । कांग्रेस हुर्काउने र बढाउने यो घर प्रजातन्त्रवादीका लागि धामजस्तै थियो । यो घर मात्र होइन, राजनीतिक संस्था नै थियो, जसलाई जोगाउने चुनौतीमा छन्– शेखर कोइराला ।
हुनतः कोइराला परिवारबाट शेखर, बीपी–पुत्र शशांक र गिरिजाप्रसाद–पुत्री सुजाता कोइराला केन्द्रीय राजनीतिमा छन् । विरासतका दृष्टिले शशांक र सुजातालाई जति लाभ शेखरलाई छैन, किनकि उनीहरू बीपी र गिरिजाप्रसाद कोइरालाका सन्तान हुन् तर उनीहरूको सक्रियता शेखरको जस्तो छैन । शशांक र सुजाता त यसपालि संसदीय प्रतिस्पर्धाबाटै बाहिर छन् ।

शशांकले २०६४ को संविधानसभादेखि नवलपुरबाट चुनाव जित्दै आएका थिए । यसपालि पनि उनी आकांक्षी थिए । तर विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदलिएपछि उनले टिकट पाएनन् । ०७० मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेकी सुजाता ०७९ मा मोरङ–२ मा प्रतिस्पर्धा गरेकी थिइन् । तर यस पटक कांग्रेसबाट मीनेन्द्र रिजाल उम्मेदवार छन् । त्यसैले कोइराला परिवारको विरासत धान्ने जिम्मा अहिले शेखरको मात्रै काँधमा छ । ९ भदौ ००७ मा विराटनगरमा जन्मिएका हुन् शेखर, जो अहिले ७५ वर्षका छन् । उनको राजनीतिक उदय कुनै आकस्मिक घटना नभई लामो संक्रमणको प्रतिफल थियो । शेखरको राजनीतिक यात्रा ०२७ मा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । कांग्रेसको सदस्यता भने ०२८ मा लिएका थिए । तर उनी बीचमा चिकित्सा क्षेत्रमा सक्रिय भए ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स्० बाट एमबीबीएस तथा एमडी गरेका शेखरले नेपाल फर्किएपछि वीर अस्पताल र कोशी अञ्चल अस्पतालमा सेवा गरे । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्थापना प्रक्रियामा उनले अग्रणी भूमिका खेले । पछि उपकुलपतिको जिम्मेवारीसमेत पाए । संसदीय राजनीतिमा लागेपछि शेखरले धेरै उतारचढाव भोगेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ–७ मा मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग उनी पराजित भए । दुई क्षेत्र जितेकामा गच्छदारले मोरङ–७ छाडेपछि ०६५ मा भएको उपनिर्वाचनमा शेखर विजयी भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी विजयी भए । त्यसबेला उनै गच्छदारसँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका थिए । ०७९ मा अघिल्लो हारको बदला लिँदै पण्डितलाई हराएर प्रतिनिधिसभा सदस्य भए । आगामी निर्वाचनमा उनी मोरङ–६ बाट उम्मेदवार छन् । शेखर पार्टीभित्र सुधारवादी नेताका रूपमा चिनिन्छन् । कांग्रेसको १४औं महाधिवेशनमा उनले सभापतिमा उम्मेदवारी दिएका थिए । तर शेरबहादुर देउवासँग पराजित भए । पार्टीभित्र फरक मत राख्दै जाँदा उनले महाधिवेशनको ७ महिनापछि देउवा नेतृत्वमाथि १२ बुँदे आरोप सार्वजनिक गरे र केही महत्त्वपूर्ण बैठकमा अनुपस्थित रहे, जसले पार्टीभित्रको मतभेदलाई सतहमा ल्यायो । आफ्नै पार्टी नेतृत्वको सरकारप्रति खुलेर आलोचना गर्ने उनी बेला–बेला विवादमा पनि तानिने गरेका छन् । यद्यपि, कोइराला चिकित्सा शिक्षा, लोकतान्त्रिक अभ्यास र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नेताका रूपमा चिनिन्छन् ।

‘चिकित्सकको पृष्ठभूमि र राजनीतिक विरासतको संयोजनले उनलाई समकालीन नेपाली राजनीतिमा प्रभावशाली पात्रका रूपमा स्थापित गरेको छ,’ उनीनिकट विराटनगर महानगरका सभापति दीपक चापागाईं भन्छन् । शेखर प्रतिस्पर्धामा उत्रिएको मोरङ–२ मै पर्छ, विराटनगर बजार । विराटनगर औद्योगिक सहर त हुँदै हो, सँगै नेपाली राजनीतिको ‘इपिसेन्टर’ पनि हो । वि।सं ००३ मा विराटनगर जुट मिलबाट सुरु भएको मजदुर आन्दोलनले १०४ वर्षे जहानियाँ राणा शासनको जग हल्लाएको थियो । बीपी कोइरालाको नेतृत्वमा ००७ मा भएको आन्दोलनले नेपाली जनतामा ‘हामी पनि शासक फेर्न सक्छौं’ भन्ने आत्मविश्वास पहिलो पटक भरेको थियो ।

विराटनगरको स्थानीय परिवेश सधैं विद्रोही र वैचारिक रह्यो । गुद्री, बरगाछी, महेन्द्र चोक र रोडशेष चोकको हरेक चिया पसलमा हुने राजनीतिक बहसले काठमाडौंको सत्तालाई चुनौती दिने गर्थ्यो । कोइराला परिवारको उपस्थितिले विराटनगरलाई राजनीतिको केन्द्र बनायो । भारतसँगको खुला सिमाना र बढ्दो सहरीकरणका कारण यहाँ राजनीतिक चेतना छिटो फैलियो । फलतः ०३६, ०४२, ०४६ र त्यसपछिका हरेक मोडमा विराटनगर केन्द्रमा रह्यो । आज पनि विराटनगरको धूलोमा क्रान्तिको गन्ध र कोइराला निवासको भित्तामा इतिहासको प्रतिध्वनि सुनिन्छ ।

नेपथ्यका पात्र

कोइराला परिवारको चर्चा गर्दा अक्सर बीपी, मातृका र गिरिजाप्रसादको नाम लिइन्छ । तर, यो साम्राज्य खडा गर्न ‘नेपथ्य’ मा बसेर जीवन अर्पण गर्ने पात्र थिए केशवप्रसाद कोइराला । उनी बीपीका भाइ र शेखरका पिता हुन् । बीपी जब–जब जेल परे वा प्रवासमा रहे, तब–तब परिवारको बोझ र विराटनगरको खेतीपातीदेखि सामाजिक सम्बन्धसम्मको जिम्मेवारी केशवप्रसादकै काँधमा हुन्थ्यो ।

शेखरले कांग्रेसको १४ औं महाधिवेशनपछि एउटा मर्मस्पर्शी प्रसंग सार्वजनिक गरेका थिए । उनले बीपीले सुन्दरीजल जेलबाट आफ्ना पिता केशवप्रसादलाई लेखेका पत्रहरूको चर्चा गरेका थिए । ती पत्रहरूमा बीपीले पारिवारिक कुशलता मात्र सोधेका थिएनन्, बरु एक क्रान्तिकारी नेताले आफ्नो परिवारबाट कस्तो अपेक्षा राख्छ भन्ने पनि स्पष्ट पारेका थिए । बीपीले लेखेका थिए, ‘केशव, म यहाँ कालकोठरीमा देशको भविष्य कोरिरहेको छु, तिमीले घरको चिन्ता नगरिदिनू । तिम्रो यो धैर्य नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।’

शेखरका अनुसार ती चिठीहरू कोइराला परिवारको राजनीतिक निष्ठाका ‘दस्तावेज’ हुन्, जसले पदभन्दा माथि उठेर देश र विचारका लागि मर्न सिकाउँछ । केशवप्रसादले कहिल्यै सत्ताको आकांक्षा गरेनन्, बरु दाजुहरूको राजनीतिक यात्राका लागि आफू ‘टेको’ बनेर उभिइरहे ।
शेखरले पनि विभिन्न राजनीतिक घटनाक्रममा ‘पर्दापछाडि’ बाट भूमिका निर्वाह गरे । ०६२/६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियामा उनको भूमिका ‘निर्णायक’ बन्यो । तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा संवाद र सहमतिको पक्षमा उभिएका शेखरले ७ मंसिर ०६२ मा माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारीमा ‘पर्दापछाडि’ बाट भूमिका खेलेका थिए ।

त्यतिबेला गिरिजाप्रसादको विश्वासपात्र बनेर उनले तत्कालीन विद्रोही माओवादी र संसद्वादी दलहरूबीच ‘सेतु’ को काम गरे । त्यतिबेला दिल्लीका विभिन्न स्थानमा तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग गोप्य संवाद गर्दा शेखरले आफ्नो ‘मेडिकल’ कार्डलाई रणनीतिक रूपमा प्रयोग गर्थे ।
उनी चिकित्सक भएकाले उनको आवागमनलाई सुरक्षा निकायले खासै शंका गर्दैनथे । तर उनी ‘स्टेथेस्कोप’को आवरणमा देशको राजनीतिक ‘सर्जरी’ गरिरहेका हुन्थे । १२ बुँदे समझदारीको मस्यौदा तयार गर्दा शेखरले भारतीय कर्मचारीतन्त्र र तत्कालीन माओवादी नेतृत्वबीचको असमझदारी हटाउन रातभर संवाद गरेका थिए । शान्ति प्रक्रियाको समयमा जब माओवादी नेताहरू पहिलो पटक सार्वजनिक हुने तयारीमा थिए, शेखरले नै उनीहरू र राज्य संयन्त्रबीचको अविश्वास हटाउन मध्यस्थता गरेका थिए ।

अबको बाटो

शेखर केही महिनाअघिसम्म पार्टीभित्र ‘संस्थापनइतर’ पक्षको नेतृत्व गर्थे । गत पुसको विशेष महाधिवेशनका बेला उनले रणनीतिक लचकता देखाउँदै संस्थापन समूहसँग सहकार्य गरे । गगनकुमार थापाको नेतृत्वलाई लगभग नकारेका उनी अन्ततः उनै थापाले हस्ताक्षर गरेको टिकट बोकेर मोरङ–६ मा भोट मागिरहेका छन् । विशेष महाधिवेशनपछि उनीसामु दुईवटा प्रश्न उभिएका छन्– पहिलो, अब उनी स्पष्ट रूपमा वैकल्पिक धारको नेतृत्व गर्छन् कि सहमतिमूलक राजनीतिमा फर्किन्छन् रु दोस्रो, कोइरालाको विरासतलाई अबको कांग्रेससँग कसरी जोड्छन् रु

बीपी–पुत्र भएकाले शशांकमा ‘सेन्टिमेन्टल’ शक्ति छ । तर उनी तुलनात्मक रूपमा कम सक्रिय र समन्वयकारी भूमिकामा देखिन्छन् । सुजातासँग गिरिजाप्रसादको विरासतबाहेक केही पनि छैन । यी तीनै कोइरालाबीचको एकता वा प्रतिस्पर्धाले कांग्रेसको भविष्य प्रभाव पार्न सक्छ । तर शेखर आफूलाई ‘कोइरालाको छोरा वा भतिजो’ भन्दा पनि ‘परिवर्तनको एजेन्डा बोकेको नेता’ का रूपमा चिनाउन सफल भएका छन् ।

शेखरका लागि अबको बाटो सहज छैन । उनले एकातिर कोइराला परिवारको ‘स्वर्णिम इतिहास’ जोगाउनु छ भने अर्कातिर बदलिँदो राजनीतिक परिवेशमा नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्नु छ । तर, उनी भर्खरै सम्पन्न विशेष महाधिवेशनमा चुकिसकेका छन् ।

‘पार्टीभित्र एकता र प्रभाव, युवापुस्तालाई कांग्रेसतर्फ आकर्षण र राष्ट्रिय राजनीतिमा स्पष्ट दृष्टिकोण उनका अबका चुनौती हुन्,’ विराटनगरका युवा कांग्रेस नेता विष्णु भुर्तेल भन्छन्, ‘शेखरका लागि अबको यात्रा विरासत जोगाउने मात्र होइन, त्यसलाई पुनर्परिभाषित गर्ने पनि हो । इतिहासले उनलाई पहिचान दिएको छ । तर, भविष्य उनी आफैंले कोर्नुपर्नेछ ।’

पर्वत पोर्तेलले कान्तिपुरमा लेखेका छन्