बेलबारी। आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ ।
जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।
निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दङ्गालले बताए । उनका अनुुसार जिल्ला सुुरक्षा समितिले वर्गीकरण गरेको अतिसंवेदनशील निर्वाचन केन्द्रमा थप सुुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ ।
मोरङको बेलबारी–१० भाउन्नेस्थित शुुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसक्नुुभएको छ । पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताए । बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । उहाँले मतदान शिक्षा लिइसकेको र आफ्नो मतबदर नहुनेमा ढुुक्क रहेको उल्लेख गरे । रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदाता सङ्ख्या सात लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कूल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो । आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार ५३५ मतदाता थिए ।

प्रतिक्रिया