डेपुटी गभर्नर नियुक्तिको दौडधुप : रामु, गुरु र दीर्घबीच मुख्य प्रतिस्पर्धा

डेपुटी गभर्नर नियुक्तिको दौडधुप : रामु, गुरु र दीर्घबीच मुख्य प्रतिस्पर्धा


काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त हुन लागेको डेपुटी गभर्नर पदका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । राष्ट्र बैंकभित्र कार्यरत विभिन्न विभागका १८ जना कार्यकारी निर्देशकहरू प्रमुख दाबेदारका रूपमा चर्चामा आएका छन् । संस्थाभित्रकै उच्च तहका अधिकारीहरूबीच हुने यो प्रतिस्पर्धाले राष्ट्र बैंकमा चासो र बहस दुवै बढाएको छ ।

डेपुटी गभर्नर पद नीतिगत तथा प्रशासनिक नेतृत्वसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पद हो । यस नियुक्तिले नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रमा ठूलो प्रभाव पार्ने भएकाले यसलाई निकै संवेदनशील रूपमा हेरिएको छ । हाल चर्चामा रहेका अधिकांश अधिकारीहरू लामो समयदेखि राष्ट्र बैंकमा विभिन्न विभागको नेतृत्व गर्दै आएका वरिष्ठ तथा अनुभवी छन् । उनीहरूले मौद्रिक नीति, बैंक सुपरिवेक्षण, वित्तीय नियमन, विदेशी विनिमय व्यवस्थापन जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान

दिएका छन् ।
प्रमुख दाबेदारहरूमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, आर्थिक अनुसन्धान विभागका डा रामशरण खरेल, बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल, लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य रहेका छन् । ।

यसैगरी समर्पित तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल, वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा, , गभर्नरको कार्यालयका दयाराम शर्मा, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा सत्येन्द्र तिमिल्सिना, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका चेतप्रसाद उप्रेती, बैंकिङ विभागका रोशनकुमार सिग्देल पनि प्रतिस्पर्धामा छन् ।

त्यस्तै मौद्रिक व्यवस्थापन विभागका डा दिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी, मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल, आन्तरिक लेखा परीक्षण विभागका दीपकराज लमिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजनविक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि आकांक्षी सूचीमा परेका छन् ।

डेपुटीको दाबेदारमा रहेका गुरु पौडेल र रामु पौडेल अहिलेका अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर विश्व पौडेलका विश्वास पात्र हुन् । दीर्घबहादुर रावल पनि गभर्नरले च्यापेका मान्छे हुन् । उनलाई कार्यकारी निर्देशक हुने बित्तिकै बैंक सुपरिवेक्षण विभागको प्रमुख बनाए । निजी बैंकहरूलाई नियमन गर्ने यो विभागको मुख्य दायित्व हुन्छ । यस्तो महत्त्वपूर्ण जिम्मेवारीमा कार्यकारी निर्देशक हुने बित्तिकै जिम्मेवारी पाउने राष्ट्र बैंकको इतिहासमै रावल पहिलो व्यक्ति हुन् ।

डा रामशरण खरेल पूूर्वगभर्नर तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाका ज्वाइँ हुन् । उनी पनि डेपुटीका एक दाबेदारका रूपमा रहेका छन् । दाबेदारमध्ये नरेश शाक्य सबैभन्दा सिनियर कार्यकारी निर्देशक हुन् । शाक्य पनि जेठमा सेवानिवृत्त हुनेछन् ।

राष्ट्र बैंकका स्रोतका अनुसार यी अधिकारीहरूले नीतिगत अध्ययन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा वित्तीय प्रणाली सुदृढीकरणमा लामो अनुभव बटुलेका छन् । नियुक्ति प्रक्रिया कानुनी रूपमा मन्त्रिपरिषद्बाट हुने भए पनि गभर्नरको सिफारिसमा वरिष्ठता, कार्यसम्पादन, अनुभव र नीतिगत क्षमतालाई मुख्य आधार मानिने गरेको छ ।

नेपालको केन्द्रीय बैंकका रूपमा राष्ट्र बैंकले समग्र वित्तीय प्रणालीको नियमन तथा स्थिरता कायम गर्ने जिम्मेवारी बोकेको छ । डेपुटी गभर्नर नियुक्तिले मौद्रिक नीति, बैंकिङ सुधार तथा आर्थिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो निर्णयलाई अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । नियुक्ति प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ ।