काठमाडौं । प्रत्यक्षतर्फ सुनामी ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि प्रचण्ड मत पाएको छ । उसले समानुपातिकतर्फ ५० लाख मत पाएको छ । नेपालको संसदीय चुनावको इतिहासमा सबैभन्दा धेरै लोकप्रिय मत पाउनेक्रममा रास्वपाले करिब ४८ प्रतिशत मत पाएको छ । यो अवस्थामा यसअघि कुनै पनि दलले मत पाएका थिएनन् ।
२०१५ मा भएको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत जिते पनि लोकप्रियम मत ४० प्रतिशत कटाउन सकेको थिएन । मंगलबार बिहानसम्म १ करोड ४ लाख मतगणना हुँदा रास्वपाले ५० लाख ११ हजार मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९४ हजार मत पाएको छ । यस्तै नेकपा एमालेले १४ लाख १२ हजार, नेकपाले ७ लाख ६७ हजार, श्रम संस्कृतिले ३ लाख ५८ हजार र राप्रपाले ३ लाख २५ हजार मत पाएको छ । यी पार्टीहरू मात्र संसदमा देखिनेछन् र राष्ट्रिय पार्टी हुनेछन् ।
यसअघिका राष्ट्रिय पार्टी जसपा नेपाल र जनमतले थ्रेस होल्ड पनि कटाउन सकेनन् र प्रत्यक्षतर्फ पनि जित्न सकेनन् । यस्तै गत चुनावमा ४ सिट जितेको नागरिक उन्मुक्ति पनि यो संसद्मा हुने छैन । संसदमा ६ दल र एक स्वतन्त्र सांसद मात्र हुनेछन् ।

प्रतिक्रिया