नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध रहेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा वर्षाका कारण सडक चिप्लो र हिलो भएपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । हिउँदे वर्षा रोकिए पनि दाउन्ने पहाडबाट निरन्तर लेदो र माटो बगिरहेकाले सडक सुधार हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेका छन् ।
‘पानी रोकिए पनि हिलो र लेदोका कारण सवारी सञ्चालनमा कठिनाइ छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘पूर्वबाट पश्चिमतर्फ जाने सवारीहरू उकालोमा चिप्लिएर पूर्ण रूपमा रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाने केही सवारीहरू सीमित मात्रामा सञ्चालन भइरहेका छन् ।’ तीन दिनदेखि सडक अवरुद्ध हुँदा सयौं यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका बस, ट्रक तथा अन्य मालवाहक सवारीहरू जाममा परेका छन्, जसले गर्दा गन्तव्यमा पुग्न घण्टौं ढिलाइ भइरहेको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा पनि बारम्बार अवरोध हुने गरेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार, अवरुद्ध सडक खुलाउन मर्मत र सुधारको निरन्तर प्रयास भइरहेको छ । यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म ९वा थप सूचना जारी नभएसम्म० प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना सवारी तथा आकस्मिक सेवाका साधनहरू पनि प्रभावित भएका छन् । दाउन्ने क्षेत्र पूर्व–पश्चिम राजमार्गको जटिल खण्ड मानिन्छ, जहाँ सडक विस्तारका क्रममा बारम्बार पहिरो, भासिने र चिप्लिने समस्या दोहोरिने गरेको छ । यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने भए पनि अन्य क्षेत्रहरूमा पनि मौसमी प्रभावका कारण समस्या रहने गरेको छ ।
सडक आयोजना र प्रहरीले सडक खुलाउने प्रयास तीव्र पारेका छन्, तर पूर्ण सञ्चालनका लागि केही समय लाग्न सक्ने अनुमान गरिएको छ । यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया