नवलपरासी । नेपालमा बर्सेनि देखिने रासायनिक मलको अभाव समाधान गर्न र किसानहरूलाई समयमै मल उपलब्ध गराउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महत्वपूर्ण छलफल भएको छ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ताको सहभागितामा भएको छलफलमा मलको वर्तमान अवस्था, आगामी दिनमा मागअनुसार आपूर्ति व्यवस्थापन र चुहावट रोक्ने विषयमा गहन छलफल भएको हो।
छलफलमा सांसद गुप्ताले भने, “खेतीको समयमा मल नपाउने पुरानो समस्या अब दोहोरिनु हुँदैन। देशभरका किसानलाई आवश्यकता अनुसारको मल समयमै उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्छ।” उद्योग मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले मल आपूर्तिलाई सहज बनाउन प्राविधिक तथा प्रशासनिक सुधार आवश्यक रहेको बताउँदै किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र वितरण प्रणालीलाई थप पारदर्शी बनाउने बताए।
कृषि सामग्री संस्थानका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले हालको मौज्दात र आयात प्रक्रियाबारे जानकारी गराउँदै मागअनुसार मल व्यवस्थापन गर्न बोलपत्र र ढुवानी प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।
छलफलले मलको बहाव (चुहावट) रोक्न र वास्तविक किसानसम्म मल पुर्याउन स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।
खेतीको सिजन सुरु हुनुअघि नै किसानको हातमा मल पुग्ने सुनिश्चितता गर्ने, वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार मल आयात र वितरण गर्ने तथा आपूर्ति प्रणालीमा रहेका चुनौतीहरूको समाधान गर्ने विषयमा समेत छलफल केन्द्रित भएको थियो।
किसानहरूले वर्षौंदेखि मल अभावको समस्या झेल्दै आएकाले यो छलफललाई सकारात्मक रूपमा हेरिएको छ। सरकारले छिट्टै ठोस योजना ल्याउने अपेक्षा किसानहरूले गरेका छन्।

प्रतिक्रिया