‘बखान’ उपन्यास पुरस्कृत

‘बखान’ उपन्यास पुरस्कृत


चितवन। यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ ।

साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई रु २० हजार नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा वक्ताहरुले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राख्नुभएको थियो ।

प्राध्यापक डा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताउनुभयो । कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईँलगायतले कृतिका बारेमा धारणा राख्नुभएको थियो ।

साहित्यकार अनिल शर्मा ‘विरही’ले ‘बखान’ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताउनुभयो । पराजुलीका बखानबाहेक तीनवटा कृति प्रकाशित भइसकेका छन् ।