काठमाडौँ । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा सुरु भएको छ ।
बिहीबार सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित एक समारोहबिच नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले महोत्सवको उद्घाटन गरिन् । चैत २३ सम्म संचालन हुने महोत्सवमा उद्घाटन फिल्मका रुपमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी, नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंहलगायत चलचित्रकर्मीको पनि उपस्थिति रहेको थियो ।
सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन् । ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिए । उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए ।
पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए । बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्त्वबारे बोलेका थिए ।
निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धा बाहिर रहेर विशेष प्रदर्शन गरिनेछ । निफका अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे ।
यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जसअन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निःशुल्क हेर्न पाइनेछ । प्रतिस्पर्धामा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ । निफअन्तर्गत १० वटा अन्तक्रियात्मक कार्यकम राखिएको छ, जसमा विभिन्न देशका मेकरहरूले आफ्नो अनुभव सेयर गर्नेछन् ।

प्रतिक्रिया