नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ । १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीतहरु सुनाउनेछ । मुख्य सहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । यात्राको अन्तिम शो भने अप्रिल १८ शनिबार लन्डन सहरमा हुनेछ । त्यो दिन ‘लन्डन म्युजिक हल’ मा नेपथ्य गुन्जिनेछ ।
नेपथ्यले तीन वर्षअघि क्यानडाका क्यालगरी, भ्यानकुभर र टोरन्टोमा शृङ्खलाबद्ध प्रस्तुति दिएको थियो । यसपटकको नेपथ्य यात्रामा तीनवटै क्यानाडेली सहर संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी भेगसँग जोडिने ओन्तारियो राज्यमा पर्छन् । मुख्य आर्थिक केन्द्र टोरन्टोसमेत अटाएको यस भेगमै नेपालीको उल्लेख्य उपस्थिति छ । केही समययता नेपालीका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेष गरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीमा दिन प्रतिदिन गुणात्मक वृद्धि हुन थालेको छ ।
बढ्दो नेपाली जनसङ्ख्यासँगै उनीहरूको सम्मानजनक उपस्थितितर्फ पनि उक्त राज्यको ध्यान आकर्षित हुन थालेको छ । केही साताअघि मात्र त्यहाँका काउन्सिलर निथन सानले हरेक अप्रिल १०–१७ लाई ‘नेपाली सम्पदा सप्ताह’ का रूपमा मनाउन टोरन्टोका मेयरसमक्ष प्रस्ताव गरेका छन् । ‘नेप्लिज क्यानाडियन कम्युनिटी सर्भिसेज’ को पहलमा अघि बढेको यो प्रस्ताव हाल विचाराधीन छ । प्रस्ताव स्वीकृत भएपछि महानगरले नै यसलाई उसको कार्यक्रमका रूपमा अघि बढाउनेछ । नेपाली नयाँ वर्षको समयलाई आधार मानेर प्रस्ताव गरिएको यस अवधिमै नेपथ्य उक्त भेगमा प्रस्तुत हुने समय पनि यसपाला जुरेको छ । क्यानडाका तीनवटै सहरमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको ७ बजे ढोका खुला गरिनेछन् ।
‘अमेरिका गएको बेला क्यानडा पनि पस्ने नेपाली प्रस्तोताहरूको परम्परालाई तोड्दै नेपथ्यले तीन वर्षअघि पहिलोपटक त्यही मुलुकमा केन्द्रित शृङ्खलाबद्ध यात्रा गरेको थियो,’ नेपथ्यको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैको प्रतिफलमा अब क्यानडा नियमित रूपले भ्रमण गरिने गन्तव्य बन्न पुगेको छ ।’ क्यानडामा बसोबास गर्ने नेपाली समुदायको गौरवसँगै नेपाली कलाकारप्रति उनीहरूले दर्साउने माया पनि बढ्दै गएको उनी बताउँछन् ।
नेपथ्यले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउन सक्दो कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्राहरूमा जस्तै यस पटक पनि ६ कलाकार र ८ प्राविधिक एवं व्यवस्थापक गरेर १४ जनाको टोली सहित क्यानडा प्रस्थान गरिसकेको छ । यो टोली अप्रिल २० सम्म त्यहाँ रहनेछ ।

प्रतिक्रिया