मुम्बई । भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।केही महिनादेखि अस्वस्थ रहेकी भोसलेलाई शनिबार मुटु र श्वासप्रश्वासको समस्या देखिएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा आईसीयूमा उपचाररत उनको शनिबार राति निधन भएको हो । उनका छोरा आनन्द भोसलेले आइतबार दिउँसो निधनको खबर पुष्टि गरेका छन् । परिवारले उनको अन्त्येष्टि सोमबार गरिने जनाएको छ ।
७ दशकभन्दा लामो संगीत यात्रामा आशा भोसलेले हजारौं गीत गाएर भारतीय सिनेमालाई मात्र होइन, विश्व संगीतलाई नै अमिट छाप छोडेकी थिइन् । उनका गीतहरू अझै पनि विभिन्न पुस्तामा लोकप्रिय छन् । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी थिइन् । सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी उनले १९५० को दशकमा बलिउडमा आफ्नो अलग पहिचान बनाइन् । उनलाई सुरुमा नृत्य गीतमा मात्र सीमित गरिए पनि उनले ‘उमराव जान’ जस्ता फिल्ममा गजल गाएर आफ्नो दायरा फराकिलो बनाइन् ।
फिल्मफेयर पुरस्कार ७ पटक जितेकी भोसलेले ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ जस्ता गीतका लागि राष्ट्रिय फिल्म पुरस्कारसमेत प्राप्त गरेकी थिइन् । उनको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग तुलना गरिन्थ्यो ।निधनको खबरसँगै भारतीय संगीत जगतले एउटा पूरै युग गुमाएको छ । शुभचिन्तकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया