दक्षिणकाली । हेटौंडाबाट काठमाडौं आउँदै गरेको एक कार दक्षिणकाली नगरपालिका–९ रानीमडाँडास्थित केरावारी–सितचोक नजिकैको सडकमा अनियन्त्रित भएर भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा बा.अ.बी. ५२८१ नम्बरको कारमा सवार काठमाडौंका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ । खड्का आफैं गाडी चलाउँदै थिए ।
पहाडी घुम्ती सडकमा कार अनियन्त्रित भएर सडकबाट झन्डै ७ सय मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रहरी टोलीले मृतकको शव गाडीबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ । तर भिर अत्यन्तै खतरनाक र गहिरो भएकाले दुर्घटनाग्रस्त कार निकाल्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । “भिर निकै अप्ठ्यारो छ, कार निकाल्न कठिन भइरहेको छ,” इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी स्रोतले बताए । उद्धार कार्य अहिले पनि जारी छ ।
चैतको अन्तिम साता काठमाडौं आउने–जाने सवारीको चाप अत्यधिक बढेको बेला भएको यो दुर्घटनाले स्थानीयवासी स्तब्ध भएका छन् । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ । सुरज खड्काको निधनले परिवारमा शोक छाएको छ ।

प्रतिक्रिया