काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
खड्काको तर्फबाट उनकी श्रीमती विनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले सरकारी पक्षले प्रस्तुत गरेको आधार, कारण तथा मिसिल संलग्न प्रमाणको विवेचना गर्दा तथा अदालतबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा खड्कालाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको नदेखिएको जनाएको छ।
आदेशमा भनिएको छ, ‘निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन। निजको पक्राउ पूर्जी र म्याद थप कानुनसंगत देखिएन।’
यससँगै उनलाई हिरासत बाहिर राखेर मुद्दाको अनुसन्धान गर्न सकिने किसिमको रहेको सर्वोच्चले ठहर गरेको छ। ‘निजमाथिको दाबी कसुरको अनुसन्धान हिरासत बाहिर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया