काठमाडौं । बागमती नदी तथा यसका सहायक नदी किनारका अव्यवस्थित तथा जोखिमपूर्ण संरचना हटाउने अभियान अन्तर्गत सरकारसँग सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरणअनुसार आफूलाई सुकुम्बासी दाबी गर्दै १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा आएका छन् ।
सरकारले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई ध्यानमा राख्दै तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको जनाएको छ । स्थानान्तरण गरिएका व्यक्तिहरूलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।
यसैबीच, दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा पुगेका अन्य व्यक्तिहरूले भने तत्कालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने जनाउँदै बाहिरिएको जानकारी प्राप्त भएको छ ।
सरकारले हाल चार स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्र रहेका छन् ।

प्रतिक्रिया