जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमत पार्टी सरकारबाट फिर्ता भएसँगै फेरि मधेस सरकारको जग हल्लिएको छ। जनमत पार्टीले प्रदेश सरकारप्रतिको आफ्नो समर्थन फिर्ता लिएको औपचारिक पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालले सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको जानकारी दिए। प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टी अहिले सरकारमा पनि सहभागी छ। उसले अर्थ र खेलकुद तथा समाज कल्याण मन्त्रालयसहित दुई महत्वपूर्ण मन्त्रालय सम्हालिरहेको छ।
जनपमत पार्टीका तर्फबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री छन्। प्रमुख सचेतक चन्दनकुमार सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको पुष्टि गरे। ‘पार्टीको निर्णयअनुसार हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ उनले भने।
तर, अर्थमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेश यादवले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। सिंह र यादवको फरकफरक भनाईले जनमत पार्टीभित्र मतभेदको संकेत देखिएको छ। पछिल्ला केही सातादेखि जनमतले समर्थन फिर्ता लिने चर्चा चलिरहे पनि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारमा कुनै परिवर्तन नआउने दाबी गर्दै आएका छन्। यद्यपि जनमतको पछिल्लो निर्णयले मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेर गएको छ। यसअघि पनि पार्टीभित्रको अन्तरद्वन्दले जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेको थियो ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन नगरेपछि पार्टीले उनलाई हटाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको थियो। त्यो बेला वर्तमान अर्थमन्त्री एवं पार्टी संसदीय दलका नेता महेश यादव सक्रिय थिए। अहिले महेशलाई सत्ताबाट हटाउन जनमतका प्रमुख सचेतक चन्दन सिंह सक्रिय देखिएका छन्। नयाँ राजनीतिक परिस्थिति विकास हुँदा नेपाली कांग्रेस र नेकपाबाहेकको सरकार बन्ने सम्भावना रहेको स्रोतको दाबी छ। ‘एमाले, जसपा, जनमत र लोसपा सम्मिलित नयाँ सरकार बन्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो।
१०७ सदस्यीय मधेस प्रदेश सभामा हाल १ सय जना मात्रै सांसद छन्। एमालेका २४, जसपाकाा १८, जनमतका १२ र लोसपाको ८ सांसदसहित ६२ जना सांसद नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन्। ‘नयाँ सरकारमा कांग्रेस र नेकपा ९तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी०लाई बाहिर राख्ने तयारी छ,’ एक नेताले भने। कांग्रेस नेता कृष्ण यादव गएको मंसिर १९ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई पछि एमालेलेसमेत विश्वासको मत दिएको थियो।

प्रतिक्रिया