काठमाडौं । विवादित नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु आवश्यक नदेखिएको ठहर गर्दै चलचित्र प्रदर्शनमा रहेको अवरोध हटाइदिएको हो।
अदालतले वैशाख १५ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशले चलचित्रको प्रदर्शनमा अस्थायी रोक लगाएको थियो। तर पछिल्लो सुनुवाइपछि अदालतले उक्त आदेशलाई निरन्तरता दिनुपर्ने आधार नभएको निष्कर्ष निकालेको छ। आदेशमा भनिएको छ, “रिट निवेदनमा माग गरिएको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन।”
यस निर्णयसँगै ‘लालीबजार’ अब सार्वजनिक प्रदर्शनका लागि बाटो खुला भएको छ। यद्यपि, अदालतले मुद्दाको अन्तिम सुनुवाइ भने बाँकी नै रहेको संकेत दिएको छ, जसले चलचित्रसँग सम्बन्धित विवादको दीर्घकालीन टुंगो अझै लाग्न बाँकी रहेको देखाउँछ।
उक्त चलचित्रलाई लिएर यसअघि केही पक्षले आपत्ति जनाउँदै अदालतमा रिट दायर गरेका थिए। ती आपत्तिहरूको विषयवस्तु अन्तिम सुनुवाइमा विस्तृत रूपमा परीक्षण हुने अदालतले जनाएको छ।
यो चलचित्र निश्चल बस्नेतले निर्माण गरेका हुन् भने उनकी श्रीमती स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । यो चलचित्रले वादी समुदायको अपमान गरेको भन्दै प्रदर्शनमा रोक लगाउन माग गरी अदालतमा रिट दायर भएको थियो । अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि निश्चल बस्नेत र स्वस्तिमाले माइतीघरमा प्रदर्शनसमेत गरेका थिए ।
सामाजिक सञ्जालमा निश्चल बस्नेतको चलचित्रलाई बहिष्कार गर्न ट्रेन्डसमेत चलेको छ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा बस्नेत पनि आन्दोलनमा थिए । सोही विषयलाई लिएर एकपक्षले बस्नेतको आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया