धुर्मुस, सुन्तली र घिमिरे सहकारीको ऋण नतिरेर विदेश गएको आरोप

धुर्मुस, सुन्तली र घिमिरे सहकारीको ऋण नतिरेर विदेश गएको आरोप


काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि संस्थाको ऋण नतिरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सहकारीले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपिल जारी गर्दै करिब ७० लाख रुपैयाँ ऋण नतिरी उनीहरू विदेशमा मोजमस्ती गरिरहेको दाबी गरेको हो ।

सहकारीका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य एवं सीताराम कट्टेलका सालो कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि भन्दै कर्जा प्रवाह गरिएको थियो । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा आर्थिक अभाव भएर फाउन्डेसनको चेक बाउन्स हुने र कालोसूचीमा पर्ने अवस्था आएपछि, दैनिक उठ्ने सहयोग रकमबाट चुक्ता गर्ने सर्तमा उक्त ऋण दिइएको सहकारीले जनाएको छ ।

सहकारीले जारी गरेको विज्ञप्तिमा कृष्ण घिमिरे हाल बेलायतमा रहेको र ऋण तिर्न आग्रह गर्दा ‘भिनाजुसँग कुरा गर्नुस् वा महानगरले तिर्छु जस्ता गैरजिम्मेवार जवाफ दिने गरेको उल्लेख छ । त्यसैगरी, सीताराम कट्टेल र कुन्जना घिमिरे हाल अमेरिकामा रहेको र त्यहाँ घर समेत किनेर सुखद जीवन बिताइरहेका तस्विर सार्वजनिक भइरहेको तर संस्थाको ऋण तिर्न चासो नदिएको सहकारीको भनाइ छ । ‘तपाईँहरूको कारण हामीले सदस्यहरूको बचत फिर्ता गर्न सकेका छैनौँ, ३ वर्ष भइसक्यो,’ सहकारीले धुर्मुस-सुन्तलीलाई लक्षित गर्दै भनेको छ, ‘करिब ७० लाख तिर्न बाँकी देखिन्छ । जनताको रगत(पसिनाको कमाइ नतिरी विदेशमा मोजमस्ती गर्नु अन्याय होइन ?  सहकारीले अब ऋण असुलीका लागि कानुनी बाटो अपनाउने चेतावनी दिएको छ । ‘अन्यथा सरकार कडा छ, ऋण असुलीका लागि कानुनी बाटोमा संस्था अघि बढिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ