कांग्रेस विचारहीन नेतृत्वको रुखबिनाको ‘जरा’

कांग्रेस विचारहीन नेतृत्वको रुखबिनाको ‘जरा’


२० औं शताब्दीका चर्चित जर्मनी राजनीतिशास्त्री हन्ना एरेन्टाले भनेका छन, जब नेतृत्व सस्तो प्रचारबाजी, झूठ र असत्यको बाटो रोज्छन्, अनि लोकतान्त्रिक संस्थाहरु कमजोर हुदै जान्छन् । अधिनायकवादी नेतृत्वले प्रपोगण्डा मार्फत नगारिकमा भ्रम सिर्जना गर्छ, त्यसपछि आमनागरिकले संस्थाप्रति विश्वास गुमाउँदै जान्छन् । र, नागरिक संस्थामा अधिनायकवाद जन्मिन्छ ।
अर्का राजनीतिशास्त्री जीन ज्याक्स रुसोका अनुसार जबजब नेताहरुले सामूहिक चाहानाको प्रतिनिधित्व छोडेर सिमित उच्च वर्गको स्वार्थ पूरा गर्न थाल्छन्, तब लोकतन्त्र कमजोर हुँदै पतनउन्मुख हुन्छ । र, नागरिकको स्वतन्त्रता खोसिन्छ । दुबै भनाई नेपालका लोकतान्त्रिक भनिएका पार्टीहरुमा लागू हुन्छ । अझ लोकतन्त्रका लागि वर्षौ लडेको नेपाली कांग्रेस भित्र ठ्याक्कै यही अवस्था देखिन्छ । रुसोले भने झै कांग्रेससिमित स्वार्थ समूहको घेराबन्दीमा परेको छ ।
नेपालको अहिले शासन गर्ने शासकहरुको पनि अवस्था हन्ना एरेन्टा र जीन ज्याक्स रुसो भने जस्तै छ । तर यहाँ नेपाली कांग्रेसको बारेमा बहस खोजीएको हो । नेपाली कांग्रे स्थापना कालदेखि अहिलेसम्म इतिहासकै कमजोर र विचारहीन गतिमा अघि बढीरहेको छ । पार्टीभित्रको आन्तरिक द्धन्द्ध, कलह, गुटगत राजनीति तथा कमजोर नेतृत्वको कारण कांग्रेस लगभग विगठनउन्मुख दिशामा गइरहेको छ । राजनीतिशास्त्री हन्ना एरेन्टाले भने जस्तो नेपाली कांग्रेस सस्तो लोकप्रियताको शिकार भएको छ । यो वा त्यो नामा आमकांग्रेसीजनमा भ्रम फैलाइयो । आफू र आफ्ना एजेण्डा स्थापित गर्न पार्टीभित्र प्रपोगण्डा मार्फत नेतृत्व कब्जा गरिएको छ । जसले कांग्रेसजस्तो लामो इतिहास र विरासत बोकेको पार्टीलाई जनताले निर्वाचन मार्फत तिरस्कार गरी दिएका छन् ।
जीन ज्याक्स रुसोले सामूहिक हित सामुहिक सहभागिता बिना चलेको संस्था पतनउन्मुख हुन्छ । र, अधिनयावादी नेतृत्व जन्माउँछ भने जस्तै कांग्रेस त्यही लय समातेको देखिन्छ । पार्टीभित्रका केही सिमित व्यक्तिको निहीत स्वार्थका लागि पार्टीको विधि, पद्धति र स्थापित मुल्यमान्यता कुल्चिएर बहुमतको नाममा भएको विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरियो । बुझ्ने भाषामा भन्दा पार्टी कब्जा गरियो । जसले नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो झन बढावा दिनपुग्यो । तत्कालिान पार्टी सभापति शेर बहादुर देउवा र १४ औं महाधिवेशनका उपविजेता वरिष्ठनेता डा. शेखर काइराला समेतलाई पाखा लगाइयो । अरु वरिष्ठनेताहरु प्नि पार्टीभित्र अटाएनन् । पार्टीभित्रको सामूहिकताको भावना मर्दै गयो । जसले अहिले पार्टीभित्र पानी बाराबारको अवस्था सिर्जना गरायो । अहिलेको पार्टी नेतृत्वले एकले अर्कोलाई गरिने सामान्य शिष्टाचार पनि गर्न छोडेका छन् । फलतः पार्टीमा विभाजनका रेखा कोरिन थालेका छन् ।
बदलिएको भनिएको २.० कांग्रेसले गएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार छनौट एकलौटी ढंगले गर्यो । टिकट पनि पार्टी कार्यालय भन्दा हाटल होटलबाट वितरण भयो । अचम्मको कुरा त के भने, तत्कालिन सभापति शेर बहादुर देउवालाई चुनाव लड्नबाट बञ्चित गरियो । जबकी उनी अहिलसम्म कुनै पनि निर्वाचनमा पराजय भएका थिएनन् । त्यस्तै, बीपी पुत्र डां शशांक कोइराला तथा गणेशमान पुत्र प्रकाशमानसिंहलाई पनि चुानब लड्न दिइएन । दुबै जनाएको गएको निर्वाचनमा जितेका थिए ।
कांग्रेसले आफैले बनाएको नियम विपरित व्यक्ति इगोको कारण कयन लगातार जीत हासिल गरेका नेताहरुलाई पनि टिकट नदिएर चुनाव लड्नबाट बञ्चित गरियो । नयाँ अनुहारलाई टिकट दिने नाममा नातागोता, नजिकका र पैशावाललाई उम्मेद्वार बनाइयो । तर परिणाम ठीक उल्टो आयो । २०७९ को निर्वाचनमा पहिलो भएको पार्टी २०८२ को निर्वाचमा लजास्पद हारसहित दोस्रो दल बन्न पुग्यो । जबकी राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट ल्याउँदा, नेपाली कांग्रेस भने ३८ सिटमा खुम्चियो । जुन कांग्रेसका लागि लज्जाको विषय बन्यो ।
अझ सोचनीय कुरा त के भने, शक्तिशाली भनिएका पार्टी सभापति गगन थापाको बागमती प्रदेशमा प्रत्यक्षमा रसुवा बाहेक कतै जित हात परेन । अनि, निकै तामझामका साथ निर्वाचन लड्न मधेश झरेका पार्टी सभापति आफूल ठूलो मतान्तरले पराजय व्यहोरे । कांग्रेस बलियो क्षेत्र मानिएको मधेशमा प्रत्यक्षमा पनि रौतहटमा बाहेक कही पनि जित हासिल गर्न सकेन् ।
यो निर्वाचनमा नेपाली कांग्रेसको शाख बचाएको सुदूरपश्चिम र कर्णाली हो । तर पार्टी नेतृत्वले सुदूर र कर्णालीप्रति सौतने व्यवहार देखायो । निर्वाचनको समयमा एक पनि चुनावी सभा गर्न सकेन । उल्टा तत्कालि सभापति शेर बहादुर देउवाप्रति लान्छाना लगाउने गरी वक्तव्यबाजी गर्न तम्सिए । जसले आमकांग्रेस निराश हुन पुगे । सक्रिय हुनै पाएनन् । अर्को कुरा, पार्टीभित्र विशेष महाधिवेशनको नाममा जेजस्तो भयो, त्यसाले आमकार्यकर्ताहरुले गाउँ जान र मत माग्न कठिन भयो । अन्यौलको सिर्जना भयो । जसले सुखद परिणाम ल्याउन सकेन ।
निकै तामझाम र चर्को भाषणबाजीसँगै भएको विशेष महाधिशन बद लिएको कांग्रेस गाउँगाउँ जान सकेन । प्रशासनिक चुस्तता हुन सकेन । विगतमा केन्द्रले गर्ने समन्वय यो पटक अन्यौलतामा रुमालियो । प्रभावशाली बदलिएको कांग्रेसले निर्वाचन अघि र पछि कर्णाली र सुदूरपश्चिमा एउटा पनि आमसभा गर्न सकेन । मधेश बाहेक अरु प्रदेशमा पनि देखिने सुनिने गरी कुनै पनि चुनावी सभा हुन सकेन ।

पार्टी सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र बाहेक कतै देश दौडाहमा जान सकेनन् । उनी आफ्नै लागि मत माग्नमै सिमित रहे । निर्वाचन हारिने डरले निर्वाचन नलडेका सपभापति विश्वप्रकाश शर्मा पनि आफू निकटका उम्मेद्वारका केही क्षेत्र बाहेक कते पनि गएनन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउन सकेनन । हुँदाहुँदा उनको सिनर्वाचन क्षेत्र सबैभन्दा बढीमत श्रम संस्कृति पार्टीले ल्यायो । रोचक कुरा त भने, बदलिएको भनिएको कांग्रेसका कुनै पनि पदाधिकारीले चुनाव जित्न सकेनन् । बदलियो कांग्रेस, बदल्छौ देशको नाराले नेपाली कांग्रेसलाई उल्टा गिज्यायो । नेता, कार्यकता तथा आमजनताले कांग्रेस बदलिएको महसुस नै गरेनन् ।

लज्जासपद हारे व्यहोरेपछि पार्टीले निर्वाचनपछि गरिएको निर्वाचन समिक्षा भेला पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आयोजना हुन सकेन । बाँकी भएको समिक्षामा विगतको नेतृत्वलाई दोष लगाएर आफू चाखो बन्ने काम गरियो । आफ्ना मन परेका र एकदमै चमत्कारिक नेतृत्व भएकालाई टिकट दिदा पनि लज्जाजपद हारे पछि जिम्मा लिनुको सट्टा विगतको नेतृत्वमाथि दोष थुपार्ने काम भयो । आफ्ना गल्ति ढाकछोप गर्न अरुमाथि दोषारेपण गरियो । हारको वास्तविक कारण पहिचान नै नगरी सबैलाई गुमारहामा राख्ने कार्य गरियो । जसले पार्टी सुधार भन्दा पनि नयाँ इगो जन्माउने कार्य गर्यो ।

निर्वाचन हार व्यहोरेको नेपाली कांग्रेसले पार्टीलाई अध्यावधिक गर्ने र गाउँगाउँसम्म पुग्ने भनेर जरा अभियान घोषण गर्यो । यस्तै यही नामसँग मिल्दोजुल्दो अभियान नेकपा एमालले निर्वाचन अघि तीन महिनासम्म संचालन गरेको थियो । जुन औचित्यहिन साबित भएको थियो । एमालेमा प्रभावहीन भएको जरा अभियान नेपालीले कांग्रेसले नक्कल गरेर घोषणापछि पनि औचित्यहीन साबति भइरहेको छ । अहिले निर्वाचनको परिणाम र पार्टीका आन्तरिक द्धन्द्धका कारण निराश भएका भएका नेता कार्यकर्ता झन निराश भएका छन् । उनीहरुलाई वैचारिक रुपमा प्रशिक्षित गरि मनोबल उच्च गर्नु समयमा क्रियासिल अध्यावधिकका नाममा थप पीडा थपेको छ । देशभरी सबै जिल्ला तथा क्षेत्रमा १५ औं महाधिवेशनका लागि लगभग ७ लाख क्रियाशिल नबिकरण गरीसकेका छन् ।
जरा अभियानको नाममा आफ्ना नजिककालाई पार्टी भित्र ल्याउने र बाँकीलाई क्रियाशील सदस्यबाट हटाउने षडयन्त्र गन्ध देखिन्छ । अधिकांश नेपाली कांग्रेसका क्रियाशिल सदस्य बिना अर्थको अध्यवाधिक गर्ने मनस्थितिमा छैनन् । परिणामतः केन्द्रबाट लादिएको जरा अभियान कार्यकर्ताको बहिस्कारमा परेको छ ।
पार्टी सभापति लगयताका पदाधिकारीले के भ्रम फैलाइरहेका छनभने क्रियाशिल सदस्यको विवरण राख्नको लागि जरा अभियान गरिएको हो । तर, सत्यता के हो भने १५ औं महाधिवेशनको लागि संकलन गरिएका नबिकरण फारममा सदस्यको फोटो सहितको विवरण भरिएको छ । अझ नयाँ क्रियाशिलमा त झन पूरा विवरण सहित फराम भरेर जिल्ला कार्यसमितिलाई बुझाइ सकेको छ । सबै विवरण पार्टीसँग छदैछ, केका लागि थप अध्यावधिक गर्ने ? यो प्रश्न आमकार्यकर्ताले गरिहेका छन् ।
शंकाको विषय के भने, अहिले थालिएको जरा अभियानको नाममा आफूसँग सहमत नहुने तथा फरक मत राख्ने नेता कार्यकर्तालाई रोक्नेका लागि थािलएको अभियान जस्तो देखिन्छ । यो अभियानले फरक मत राख्नेलाई १५ औं महाधिवशनमा भागलिनबाट बञ्चित गर्नको लागि प्रयोग गरिएको होकी भन्ने आशंका जन्माएको छ । अहिलेको नेतृत्वको गुणगान गाउँने तथा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुलाई मात्र पार्टीभित्र स्थान दिने नियतका साथ लागू गरिएको जस्तो देखिन्छ । नत्रभने औत्यिहिन र पार्टीहित विपरित देखिने कुबेलामा किन संचालन गर्नुपर्यो त ? यसको सैद्धान्ति, वैचारिक तथा साँगठित औचित्य के हा ? अहिलेसम्म नेतृत्वले यसको पुष्टि गर्न सकेको अवस्था छैन् । धेरैको बुझाई यसलाई पार्टी कब्जा गर्ने अर्को षडयन्त्र रुपमा लिएका छन् ।
जरा अभियान असफ साबित भइसकेको छ । पार्टीले जरा अभियानका लागि खटाइएको केन्द्रीय प्रतिनिधि जिल्ला जान सकेका छैनन् । गएकाहरुले पनि जिल्ला र क्षेत्रको बैठक डाक्न सकेका छैनन् । जिल्ला पुगको प्रतिनिधि पनि त्यतिकै फर्किरहेका छन् । गाउँ तथा वार्ड पुग्ने कुरा त परैजाओस् । तर केही जिल्लामा जिल्लाको नेतृत्वसँग समन्वय नगरीकनै आफ्नै ढंगले जरा अभियान अन्तरगत क्रियाशिल अध्यावधिक गरिहेका छन् । अझ सुदूरपश्चिम र कर्णालीमा जरा अभियानको कुनै प्रभाव नै छैन् । कोशी, बागमती, गण्डकी, लुम्बिनीमा पनि एकमदै न्यून सहभागिता रहेको देखिन्छ । यहीबाट के पुष्टि हुन्छ भने औचित्यहिन जरा अभियानले पार्टी थप कमजोर बनाउने काम बहेक अरु केही गर्नेवाला छैन् ।
जरा अभियानको बारेमा अर्को शंका गर्ने कुरा के भने, पार्टी सभापतिले नै सार्वजनिक रुपमै हामीलाई धेरै हैन एक दुइ लाख क्रियाशिलपुग्छ, बढी चाहिदैन भनिरहेका छन् । सात लाख क्रियाशिलबाट निक एक दुइ लाखमा सिमित गरिदैछ । के उद्देश्यका लागि यस्तो गरिदैछ ? सुन्दै आनौठो लाग्ने सभापति आशया पार्टीभित्र सबैलाई समेटिनुपर्छ भन्दा पनि आफ्नामात्र भए पुग्छ भन्ने बुझिन्छ । अर्को कुरा आउने भए आउँ, नआउने भए पनि ठीकै छ । तिम्रो पार्टीभित्र त्यति आवश्यकता पनि छैन भन्ने खालको आशयले अझबढी शंका उब्जाएको छ । र, यो पार्टी एकलौटी कब्जा गर्ने षडयन्त्र जालो हो भन्ने शंका गर्ने बल पुगेको छ ।

पार्टीभित्रको परिवर्तन हुनुपर्छ भन्दै क्रान्तिकारी कुरा सहित दिनहुँ सामाजिक संजालमा देखिने पार्टी सभापति अहिले देखिन छोडेका छन् । सुनि छोडेका छन् । बुझिन छोडेका छन् । लगभग दुइतिहाई बलियो सरकार भएको वर्तमान अवस्थामा प्रमुख प्रतिपक्ष दलको लापत्ता झै छ । जनजीविका सवालमा बेखबर जस्तै देखिन्छ । सरकारले बिना व्यवस्थापन हजारौं सुकुम्बासी विस्थापित गरेको छ । दलीय ट्रेडयुनियन खारेज गरेको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको छ । महंगीले गरिबको चुलो बल्न छाडेको छ । तर नेपाली कांग्रेस न सदनमा देखिन्छ । न त सडकमै देखिन्छ । विगतमा कहिले सामाजिक संजालमा त देखिन्थ्यो, अहिले त्यो पनि देखिन छाड्यो । देशको अवस्था एकातिर छ । जनताको अवस्था अर्कोतिर छ । तर, बदलिएको नेपाली कांग्रेस भने जरा भन्या छ । गाउँतिर कुद्याछ । सिमित घेराभित्र गफमा रमाएको छ । जनता कांग्रेस खोजीरहेका छन् । तर कांग्रेस जरा खोजीरहेको छ ।

समग्रमा, यही अवस्थामा नेपाली कांग्रेस रहीरह्यो भने स्थानीय तह र प्रदेशका निर्वाचनपछि जरा त के रुखको पातसमेत रहदैन् । स्पष्ट विचार नभएको नेतृत्वले अन्ततः पार्टीलाई जनताबाट टाढा लैजान्छ । सामुहिकताबाट सिमति घेराभित्र खुम्च्याउँदछ । आन्तरिक लोकतन्त्रलाई बर्जित गर्छ । नेता तथा कार्यकताबीचको आन्तरसम्वादलाई अस्वीकार गर्छ । पार्टी एउटा क्लबमा रुपान्तरित हुन्छ । अनि लोकतन्त्र मर्छ । फरकशैलीको अधिनायकबाद जन्मिन्छ र पार्टी धारासायी हुन्छ । यसकारण जरा अभियान हैन, सबैलाई समेटेर, सबैको भावना बुझेर, सबैलाई सँगै हिडाए जानुको बिकल्प छैन् । नभए आउँदा निर्वाचनमा कांग्रेसले अकल्पनीय क्षति भोग्छ । अनि पछि जति पछुताए पनि कांगेस र कांग्रेसी रहन्नन् । त्यसकारण बेलैमा दम्भ, अहमत तथा घमण्डलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको अर्को बिकल्प छैन् । देश, लोकतन्त्र र पार्टीको यसैमा हित छ ।

(लोकराज अवस्थी समसामयिक विषयमा लेखीरहनुहुन्छ)