१ लाख घुस लिएका हवल्दार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

१ लाख घुस लिएका हवल्दार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ ।

प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना एवम् उजुरी निवेदन आयोगमा प्राप्त भएको थियो । उक्त उजुरीका आधारमा अख्तियारले प्रहरी वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालले अनुसन्धानका क्रममा सिंहले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरी दिएबापत सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको बताए ।

अख्तियारले सिंहलाई बिगो १ लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड ग बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।