कांग्रेस बारा सभापति राजेश राय यादव निलम्बित

कांग्रेस बारा सभापति राजेश राय यादव निलम्बित


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यादवविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा केन्द्रीय अनुशासन समितिले उनलाई २०८३ वैशाख ३० गते पाँच दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । तर उनले तोकिएको समयभित्र कुनै जवाफ नदिएपछि समितिले पुनः जेठ १२ गते तीन दिनको समयसीमा दिएर दोस्रोपटक स्पष्टीकरण माग गरेको थियो । त्यसबेला पनि उनले कुनै प्रतिक्रिया नदिएको समितिको निष्कर्ष छ ।

अनुशासन समितिले घटनाबारे थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यादवलाई सभापति पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गरेको छ । त्यसैले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय नआउन्जेलसम्मका लागि उनलाई बारा जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको निर्णयमा उल्लेख छ ।

यसैबीच, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) माथि परेको उजुरीका सम्बन्धमा समितिले सफाइ दिएको छ । उनीसँग मागिएको स्पष्टीकरण र थप अनुसन्धानका क्रममा प्राप्त कागजात अध्ययन गर्दा उनको जवाफ सन्तोषजनक देखिएको भन्दै समितिले उनीमाथि थप कारबाही आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

त्यस्तै, सर्लाही प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायमाथि पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो । उनीहरूले पेस गरेको स्पष्टीकरणपछि समितिले आरोप पुष्टि हुने आधार नदेखिएको जनाउँदै उनीहरूलाई पार्टी विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ ।