सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी

सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी


काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिलाई प्रारम्भमा दिइएको १५ दिनको समयसीमा जेठ १९ गते सकिएपछि मन्त्रिपरिषद्ले थप पाँच दिन म्याद थप गरेको थियो । थपिएको समय आगामी शनिबार सकिने भएकाले प्रतिवेदन अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

समितिका सदस्य तथा प्रवक्ता अच्युतमणि न्यौपानेका अनुसार हाल प्रतिवेदन लेखनको काम भइरहेको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार प्रतिवेदन बुझाउने तयारी गरिएको न्यौपानेले जानकारी दिए ।

निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच फरक देखिएपछि गुरुङको सम्पत्तिमाथि प्रश्न उठेको थियो । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिमा शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् ।