काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर आफ्ना अभियन्तामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाको छानबिन र कारबाहीको माग गरेको छ ।
अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हिरासतमा रहेका अभियन्तामाथि राजनीतिक दबाब र धम्कीपूर्ण व्यवहार गरिएको दाबी छ ।
विज्ञप्तिअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा जेनजी अभियानका अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको हिरासतमा राखिएको अभियानले जनाएको छ ।
अभियानका अनुसार नियन्त्रणमा लिइएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमै प्रवेश गरी अभियन्ताहरूसँग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गरेका थिए ।
विज्ञप्तिमा गुरुङले “तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ?”, “यो अन्तिम मौका हो”, “अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ” तथा “सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्” जस्ता अभिव्यक्ति दिँदै मानसिक दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
अभियानले कुनै पनि नागरिक प्रहरी हिरासतमा रहेका बेला प्रभावशाली राजनीतिक व्यक्तिले थुनुवा कक्षमै प्रवेश गरेर दबाब दिनु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ । साथै, हिरासतमा राखिएका अभियन्तालाई आधारभूत मानवअधिकारअनुसार पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको दाबी गरिएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले हिरासतमा रहेका नागरिकमाथिको राजनीतिक दबाब र धम्कीको निष्पक्ष छानबिन, गुरुङले दिएको भनिएका अभिव्यक्तिहरू सार्वजनिक गर्न, मानवअधिकार उल्लंघनबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न तथा भविष्यमा राजनीतिक हस्तक्षेपबाट प्रहरी प्रशासनलाई मुक्त राख्ने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया