काठमाडौं । बिहीबार प्रहरीले एक अनौठो गिरफ्तारी गर्यो । अपराधीलाई होइन, उपराष्ट्रपतिको कार्यालयमा कर्मचारी प्रशासनको नेतृत्व गरिरहेका सचिव कृष्णहरि पुस्करलाई नियन्त्रणमा लिन उपत्यका अपराध नियन्त्रण कार्यालयको प्रहरी टोली परिचालन भयो ।
बिहीबार दिउँसो करिब ३ बजे पुस्करलाई प्रहरीले गिरफ्तार गरी राति १० बजेपछि उनकी श्रीमती सहसचिव आभा श्रेष्ठको जिम्मा लगायो । कुनै अपराध गरेको नपाइएपछि प्रहरीले उनलाई श्रीमतीको जिम्मा लगाएर छोडेको बताएको छ ।
तर, प्रहरीले उनलाई अपराध गरेकोमा पक्राउ गरेकै थिएन । अनि कसरी अपराध भेटिन्थ्यो ? पुस्कर सात घण्टा प्रहरीको केरकारमा पर्नुमा उनले पठाएको एक मोबाइल म्यासेज कारक बन्यो । आगामी असार २४ गते सचिवबाट अनिवार्य अवकास पाउन लागेका पुस्करले हालै परराष्ट्र मन्त्रालयले राजदूतका लागि आवेदन मागेपछि त्यसमा आवेदन दिएका छन् ।
उनले राजदूत नियुक्तिमा सहयोग पाउने अपेक्षा पनि गरे होलान् । त्यसैले उनले मोबाइलाबाट सिधै प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई म्यासेज पठाए । उनले म्यासेजमा आफू मुख्यसचिव हुने सम्भावना नरहेको र सचिवबाट आगामी असार २४ गते सेवानिवृत्त हुन लागको जानकारी गराएका छन् ।
विनम्र भाषमा उनले पठाएको म्यासेजमा आफूले राजदूतका लागि आवेदन दिएको र यसमा प्रधानमन्त्रीको मार्गदर्शन चाहिएको भन्दै जानकारी दिएको उल्लेख गरेका छन् । सम्माननीय प्रधानमन्त्री भनेर सम्मान गरेका उनले आफूलाई म्यासेजमा आज्ञाकारी सचिव पनि भनेका छन् ।
यो म्यासेजकै कारण पक्राउ पर्नुपर्ने त थिएन । तर, प्रधानमन्त्रीलाई सिधै म्यासेज पठाउने सचिवको ‘हर्कत’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मन परेन । अनि उनी चेन अफ कमान्ड मिचेर प्रधानमन्त्रीलाई म्यासेज पठाएको आरोपमा पक्राउ परे । प्रहरीले केरकार गर्यो । आइन्दा यस्तो म्यासेज नपठाउने कागज गरेपछि उनी घर जान पाए ।
प्रधानमन्त्रीका निजी सचिवालयका सदस्यहरूले अन्य मन्त्रलायमा हस्तक्षेप गर्ने, थर्काउने गरेको चर्चा सिँहदरवारभित्र हाल व्यापक सुनिन्छ । सचिव नै यसरी प्रहरी केरकारमा परेपछि कर्मचारीवृत्त तरंगित भएको छ ।

प्रतिक्रिया