काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री खनालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा खनालको यो भ्रमण भएको हो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जसमा व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।
भारत प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागको भ्रमणमा मुलुकको हितका बिषयमा छलफल हुने जानकारी दिए । नयाँ सरकारको प्राथमिकताका बिषयमा पनि भारतसँग छलफल हुने उनले बताए ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री खनाल दिल्ली प्रस्थान गर्दै गर्दा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणबाट आजै स्वदेश फर्किँदै छन् । लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा भारतीय सत्तारुढ पाजपाका अध्यक्ष नितिन नवीसँग भेटवार्ता गरेका थिए । उनी आज अयोध्या पुगेका छन् । त्यहाँबाट उनी नेपाल फर्किनेछन् ।
भाजपाको निमन्त्रणमा भारत गएका लामिछानेको भारतमा भव्य स्वागत भएको थियो ।
फागुन २१ गतेको चुनावपछि सत्तामा आएको रास्वपा र भारतीय सत्तारुढ भाजपाबीच सम्बन्ध सुधारका लागि भन्दै भएको लामिछानेको भारत भ्रमणमा उच्चस्तरीय राजनीतिक भेट तथा छलफल भएको थियो ।
लामिछानेलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण भएको छ । यसले दक्षिणी छिमेकी भारतसँग नयाँ सकारको सम्बन्ध विस्तारका रूपमा हेरिएको छ ।

प्रतिक्रिया