रवि भन्छन् – सीमा विवाद कूटनीतिक विषय हो, परराष्ट्रको धारणा नै देशको औपचारिक धारणा

रवि भन्छन् – सीमा विवाद कूटनीतिक विषय हो, परराष्ट्रको धारणा नै देशको औपचारिक धारणा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिमा मुख खोलेका छन् । भारतबाट फर्केपछि त्रिभुवन विमानस्थलमा उनले यसबारे बोलेका हुन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले प्रस्टाइसकेको बताए ।

पाँचदिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भारत भ्रमणबारे मिडियासँग कुराकानी गरेका छन् ।

लामिछानेले भने, “पार्टीले देशको धारणा बनाउने होइन । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे मन्त्रालयले दिएको धारणा नै देशको औपचारिक धारणा हो ।”

कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्त्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले भने, “कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन । ढोल नबजाई आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।”

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष नितिन नवीनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

लामिछानेले भने, “मैले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष नितिन नविनलाई नेपाल भ्रमणको निम्तो दिएको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ ।”