काठमाडौं । भारतको ककरोच जनता पार्टीले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन सुरु गरेको छ । परीक्षा सञ्चालनमा गम्भीर लापरवाही भएको आरोप लगाउँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा प्रदर्शन सुरु भएको हो । ,‘जेनजी’को नेतृत्वमा रहेको ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके स्वयं उपस्थित भई जन्तरमन्तरमा उक्त प्रदर्शनको नेतृत्व गरिरहेका छन् । नीट–यूजी २०२६ को प्रश्नपत्र चुहावट प्रकरण तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्डको ‘अन–स्क्रिन मार्किङ’ प्रणालीमा भएका भनिएका अनियमितताहरूलाई लिएर शिक्षा मन्त्रालय र शिक्षा प्रशासनले चर्को आलोचनाको सामना गरिरहेका छन् ।
यसैबीच, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि विपक्षी तथा विद्यार्थी संगठनहरूले तीव्र दबाब बढाएका छन् । लद्दाखका लागि स्वायत्तताको माग गर्दै भएको आन्दोलनका अभियन्ता सोनाम वाङचुक पनि यस विरोध प्रदर्शनमा सहभागी हुने बताइएको छ । ,उनले ‘एक्स’मा लेखेका छन्, “हामी नभए को रु अहिले नभए कहिले रु यदि, जुन ५ सम्ममा केही परिवर्तन भएन भने म जुन ६ मा दिल्लीमा सीजेपीका सदस्यहरूसँग सामेल हुनेछु ।”
सीजेपीको सुरुआत गत महिना अदालतको सुनुवाइका क्रममा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले केही व्यक्तिहरूलाई ‘ककरोच’ र ‘परजीवी’ भनेका टिप्पणीहरूको व्यंग्यात्मक प्रतिक्रियास्वरूप भएको थियो । पछि यो संगठन एक संगठित अभियानमा रूपान्तरण हुँदै अनलाइनमा ठूलो समर्थन जुटाउन सफल भयो । विरोध प्रदर्शनअघि संगठनले आफ्नो पहुँच विस्तार गर्ने प्रयासअन्तर्गत तीनजना प्रवक्ता घोषणा गरेको थियो ।
अभिजित दीपकेद्वारा स्थापित यस समूहले ‘एक्स’मा पोस्ट गर्दै पत्रकार सौरभ दास मुख्य प्रवक्ता हुने जनाएको थियो । सीजेपीका ३० वर्षीय संस्थापक अभिजित दीपके महाराष्ट्रका हुन् । उनले पुणेबाट पत्रकारितामा स्नातक तहको अध्ययन पूरा गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि उनी अमेरिका गएका थिए । हिन्दुस्तान टाइम्स

प्रतिक्रिया