मधेश प्रदेश प्रहरी प्रमुख डीआईजीका कारण एसपीको भागा-भाग

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजीका कारण एसपीको भागा-भाग


जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग मतभेद बढ्दै जाँदा जिल्ला प्रहरी प्रमुखहरू स्वेच्छिक सरुवा मागेर कार्यक्षेत्र छाड्न थालेका छन् । पछिल्लो घटनाक्रममा रौतहट र बाराका प्रहरी प्रमुखहरूलाई एकैसाथ स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरलाई गत बिहीबार स्पष्टीकरण मागेको हो ।

यसअघि यस्तै प्रकरणपछि सप्तरीका एसपी गौतमकुमार केसी र धनुषाका एसपी रुगम बहादुर कुँवरले प्रधान कार्यालयसँग स्वेच्छिक सरुवा मागेर अन्यत्र गएका थिए । बाराका एसपी नरेन्द्र कुँवरले स्पष्टीकरण सोधिएको पुष्टि गर्दै  भने, “यो हाम्रो आन्तरिक विषय हो । डीआईजी साबलाई कुनै काम चित्त नबुझेको हुन सक्छ । मैले आवश्यक जवाफ पठाइसकेको छु ।” रौतहटका एसपी सीताराम रिजालसँग भने सम्पर्क हुन सकेन । प्रहरी स्रोतका अनुसार पछिल्लो समय बारा र रौतहटमा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाइएको थियो । सीमावर्ती संवेदनशील जिल्लामा अवैध कारोबार रोक्न जिल्ला प्रहरी सक्रिय थिए । तर प्रदेशबाट खटिएका केही कर्मचारी र स्थानीय प्रहरीबीच ‘लाइन मिलाउने’ गतिविधिमा जिल्ला प्रमुखहरूले अंकुश लगाउन खोज्दा विवाद उत्पन्न भएको दाबी छ । एक वरिष्ठ प्रहरी अधिकृतले नाम नखुलाउने शर्तमा भने, “प्रदेशबाट खटिएका केही प्रहरीको भूमिकामाथि स्थानीय सञ्चारमाध्यममा प्रश्न उठिरहेको थियो । जिल्लाले त्यस्ता गतिविधि रोक्न खोजेपछि माथिसम्म फरक रिपोर्टिङ भएको हुन सक्छ ।”
बारामा पूर्वप्रहरी प्रमुख सन्तोष तामाङलाई हटाएपछि गत मंसिर ५ गते एसपी नरेन्द्र कुँवरलाई पठाइएको थियो । उनी त्यहाँ सात महिना बिताएका छन् भने रौतहटमा एसपी रिजालको कार्यकाल पाँच महिनाको हाराहारी छ । डीआईजी थपलियाको नाम ‘सलामी दस्तुर’ र व्यापारीसँग आर्थिक लेनदेनमा जोडिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको थियो । तर प्रतिवेदन अझै सार्वजनिक भएको छैन । उक्त प्रकरणपछि केही घुमुवा र अनुसन्धान शाखाका अधिकारी हेडक्वार्टर तानिएका थिए । मधेश प्रदेश प्रहरी कार्यालयले भने स्पष्टीकरणहरूलाई नियमित प्रशासनिक अनुगमन तथा कार्यसम्पादन मूल्यांकन प्रक्रियाअन्तर्गत भएको दाबी गरेको छ । तर, दुई संवेदनशील जिल्लाका प्रमुखलाई एकैसाथ स्पष्टीकरण सोधिनु र अघिल्ला दुई प्रमुख सरुवा माग्नुले मधेश प्रदेश प्रहरीभित्र नेतृत्व र फिल्ड कमान्डबीचको सम्बन्ध निकै तनावपूर्ण रहेको देखाएको छ । संगठनभित्रैबाट घुमुवा आतंक र दबाब बढेको गुनासो समेत बाहिर आएको छ ।