काठमाडौं । सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसद्मा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए ।
बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो । साथै, राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ ।
यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ । आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ ।

प्रतिक्रिया