कस्तो रह्यो परराष्ट्रमन्त्री खनालको भारत भ्रमण ?

कस्तो रह्यो परराष्ट्रमन्त्री खनालको भारत भ्रमण ?


काठामडौं । संसद्को रोस्ट्रममा अकस्मात सांसदहरूको प्रश्नको उत्तर दिँदा यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको विवादास्पद् अभिव्यक्तिले घरेलु राजनीतिमा मात्र तरंगल्याएन, भारतमासम्म पराकम्पन पुग्यो ।

त्यस दिन प्रधानमन्त्री बालेनले दुईवटा विवादास्पद् अभिव्यक्ति दिएका थिए । एक नेपाल–भारत सीमा विवादमा तेस्रोपक्ष यूकेसँग सम्पर्क भइरहेको र दुई नेपालले पनि भारतको भूमि मिचेको । नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिले घरेलु राजनीतिमा तरंग ल्यायो भने, सीमा विवादमा तेस्रोपक्षको मध्यस्ताको विषयले भारतीयपक्ष सशंकित बन्यो ।

प्रधानमन्त्री बालेनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा दिएको यो अभिव्यक्तिले भारतीयपक्षलाई झस्कायो । र भारतले तुरुन्तै जवाफ दियो, नेपाल–भारत सीमा विवादमा तेस्रोपक्षको कुनै भूमिका छैन ।

सीमा विवादमा प्रधानमन्त्रीकै अभिव्यक्तिले द्विपक्षीय सम्बन्धमा आशंकाहरू बढाइरहेका बेला दक्षिण छिमेकमा सत्तारुढ दलका प्रमुख रवि लामिछानेको राजनीतिक र परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक भ्रमण भयो ।

लामिछानेको भ्रमण भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरसँग पनि उच्चस्तरीय भेटवार्ता भयो । यी वार्ताहरूमा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भए ।

लामिछाने स्वदेश नफर्किँदै परराष्ट्रमन्त्री शिशिर खनाल गत शुक्रबार दिल्ली भ्रमणमा निस्के । तीनदिने भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय वार्ता गरे । फागुन २१ गतेको चुनावपछि रास्वपाको नेतृत्वमा सरकार बनेपछि दक्षिण छिमेकमा यो पहिलो उच्चस्तरीय भ्रमण थियो ।

परराष्ट्रमन्त्री खनाल दिल्ली जानुअघि नै प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिमा जवाफ दिनुपर्ने वातावरण बनिसकेको थियो । भयो पनि त्यही । परराष्ट्रमन्त्री खनालले भारतमा अन्तर्वार्ता दिँदा र भ्रमण टुंग्याउनुअघि पत्रकार सम्मेलन गर्दा पनि बालेनले दिएको अभिव्यक्तिमा प्रस्टीकरण दिनुपर्ने अवस्था आइलाग्यो । त्यो अवस्था आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म कायम रह्यो ।

यी सबै स्थानमा परराष्ट्रमन्त्री खनालले आफ्नै प्रधानमन्त्री बालेनले संघीय संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्तिको खण्डन गरे । नयाँ सरकार बनेपछिको पहिलो औपचारिक छिमेक भ्रमणमा दुवैपक्षले एकअर्कालाई विश्वास दिलाउँदै सहकार्यलाई थप बलियो बनाउनुपर्ने मुख्य उद्देश्य थियो । यो उद्देश्यमा मन्त्री खनालको भ्रमण सफल भएको छ । खनालअघि लामिछानेको भ्रमणले पनि एकआपसमा विश्वास बढाउनृ काम गरिसकेको थियो । खनालको भ्रमणले त्यो विश्वासलाई अझ बलियो बनाएको छ । तर, छिमेकसँगका बहुआयमिक सम्बन्धबारे भएका उच्च समझदारीलाई बालेनको अभव्यिक्तिले छायाँमा पारिदियो ।

खनालले दिल्लीदेखि काठमाडौंसम्म बालेनेको भनाइको खण्डन गर्दै नेपाल–भारत सीमा विवादमा तेस्रोपक्षको मध्यस्तता नखोजिएको बताए । जबकि प्रधानमन्त्रीले भने संसद्मा प्रस्ट रूपमै बेलायतको नाम लिएका थिए ।

आइतबार भारतबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले भने, ‘सीमा विवादमा लामो समय लाग्ने विश्व इतिहास छ, हामी हाम्रो अडानमा स्पष्ट छौँ । सबै समस्या कूटनीति र वार्ताबाटै समस्याबाट समाधान गर्छौँ । नेपाल सरकार आफ्नो तर्क राख्न सक्षम छ । वार्ताबाटै समाधान हुन्छ । सीमा विवादमा तेस्रोपक्षको मध्यस्तता खोजोका छैनौँ । सुगौली सन्धिबाट सीमा निर्धारण भएको हो । त्यसैले आवश्यक डकुमेन्टको कुरा प्रधानमन्त्रीले गर्नुभएको हो ।’

मन्त्री खनालले नेपालसँग सुगौली सन्धिको ओरिजिनल कपी नभएको विषयमा पनि धारणा व्यक्त गरे । उनले भने, ‘राष्ट्रिय अभिलेखालयमा भएका डकुमेन्टको अध्ययन गरिरहेका छौँ । हामीसँग नभएका आधिकारिक दस्तावेज र भएका दस्तावेजका सहयोगी दस्तावेजहरू खोजी गरिरहेका छौँ । बेलायतका संग्रालयहरूमा रहेका दस्तावेजका लागि बेलायतसँग छलफल गर्छौँ ।’

नेपालले लामो समयदेखि माग गरिरहेको र भारतले आनाकानी गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि इन्ट्री एयर रुटको विषयमा पनि कुराकानी भएको मन्त्री खनालले बताए । उनले सकारात्मक जवाफ पाए पनि विषय नटुंगिएको बताए । उनले यसका लागि द्विपक्षीय प्राविधिक समितिमा छलफल हुने बताए । उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालका लागि इन्ट्री एयर रूटका विषयमा कुरा गरेका छौँ । संयन्त्रहरूमार्फत यसमा कुरा हुन्छ । प्राविधिक संयन्त्रको बैठक गर्ने सहमति भएको छ ।’