देउवा निकट दुई मन्त्री, गगन समूहकी एक राज्यमन्त्री : सुदूरपश्चिम प्रदेश सरकार विस्तार

देउवा निकट दुई मन्त्री, गगन समूहकी एक राज्यमन्त्री : सुदूरपश्चिम प्रदेश सरकार विस्तार

असन्तुष्ट खेमाबाट खेमा परिवर्तन गरी मन्त्री बने दुई सांसद


काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको छ । जेठ ८ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता कमल बहादुर शाहलाई अल्पमतमा पार्ने गरी सुरु भएको हस्ताक्षर अभियान अन्ततः भागबण्डामा टुंगिएको छ । असन्तुष्ट पक्षमा रहेका ९ मध्ये डम्मरा महराले समर्थन फिर्ता लिएपछि बाँकी रहेका ८ जनामध्ये दुई जनाले मन्त्री र एक जनाले राज्यमन्त्री पाएका छन् । उनीहरूको नाम छनोट गर्न केन्द्रलाई नै गुहार माग्नुपरेको थियो । पार्टी सभापति गगन थापा समूहबाट छानिएकी राज्यमन्त्री बाहेक दुवै मन्त्री शेरबहादुर देउवा र रमेश लेखक निकट हुन् । सामाजिक विकास मन्त्री नियुक्त भएका बेलबहादुर राना २०७९ सालको निर्वाचनमा लेखक केन्द्रमा लड्दा सोही निर्वाचन क्षेत्रको प्रदेशमा लडेर निर्वाचित भएका थिए । विगतदेखि नै उनी लेखक समूहबाटै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै आएका थिए । यसपटक भने लेखक देउवासँगै हुँदा रानाले खेमा परिवर्तन गरेर मन्त्री पाएका हुन् । यसअघि पनि उनी राज्यमन्त्री हुने चर्चा नचलेको होइन । केन्द्रमा तत्कालीन सभापतिलाई भेटेर राज्यमन्त्री नियुक्त हुन आएका उनले त्यो पद पाएनन् । यसपटक भने सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अछामका मानबहादुर रावल पनि शेरबहादुर देउवा निकट हुन् । काठमाडौंमा पनि बुढानीलकण्ठस्थित देउवा निवास नजिकै घर भएका रावल पुरै देउवा परिवारसँग नजिक थिए । mयसअघि पनि मुख्यमन्त्री शाहलाई हटाएर प्रकाश देउवालाई बनाउने प्रयासमा उनले ठूलै मेहनत गरेका थिए । तर त्यो बेला संख्या पुगेको थिएन । अहिले केही घण्टाका लागि बहुमत बनाए पनि त्यो कायम राख्न नसकेपछि मुख्यमन्त्री फेर्ने एजेन्डा बोकेको खेमा भागबण्डामै सीमित भएको हो । असन्तुष्ट समूहबाट मन्त्री भएका दुवै जना विशेष महाधिवेशन पक्षधर होइनन् । न उनीहरू विशेष महाधिवेशनमा सहभागी भए, न त हस्ताक्षर गरे ।
विशेष महाधिवेशनमा सहभागी भएकी र हस्ताक्षर गरेकी जुना दानी असन्तुष्ट समूहबाटै राज्यमन्त्री बनिन् । उनको मर्यादाक्रम सबैभन्दा पुछारमा रहेको छ । १० जनामध्ये १०औँ नम्बरमा दानी छिन् । खेमा परिवर्तन गरेर पनि अन्तिम समयमा अन्य कुनै पनि सांसदले जिम्मेवारी पाएनन् । विशेष महाधिवेशनमा पहिले हस्ताक्षर गरेर पछि फिर्ता लिएका विक्रमसिंह धामी मुख्यमन्त्री पक्षबाट अर्थमन्त्री बन्दा रमेश लेखक निकट मानिएकी मधु भारती पनि मुख्यमन्त्री पक्षबाटै सामाजिक राज्यमन्त्री बनिन् ।

देउवा निकट पदम शाही, एनपी साउद निकट गीता चौधरी, वीरबहादुर बलायर, तुलसी देवकोटा, रणबहादुर रावल निकट ललिता सुनार मन्त्रीको चर्चामा त आए, तर मन्त्री बन्न पाएनन् ।शेखर समूहका दिवानसिंह विष्टले यसअघि नै आफू मन्त्री नबन्ने घोषणा गरेका थिए ।उसो त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह पनि १४औँ महाधिवेशनमा देउवा समूहमा थिएनन् । शेखर–गगन समूहबाट केन्द्रीय सदस्यमा पराजित भएका उनी कैलाली जिल्ला अधिवेशनबाट देउवाको विश्वासपात्र बनेका हुन् ।

जिल्ला सभापतिमा आरजू राणा देउवाको उम्मेदवारका रूपमा चिनिएका नारायणदत्त भट्टलाई दोस्रो पटकको निर्वाचनमा जिताउन भूमिका खेलेपछि शाहले प्रदेश सभाको टिकट मात्रै पाएनन्, मुख्यमन्त्री नै बने । त्यसपछि देउवा समूहमा मुख्यमन्त्री शाहको यस्तो पकड भयो कि स्वयं देउवाका भतिजा प्रकाश देउवाले मुख्यमन्त्रीका लागि अध्ययन गर्दा पनि देउवा दम्पतीको साथ पाएनन् ।

केन्द्रीय सभापति निर्वाचित भएपछि पहिलो पटक सुदूरपश्चिम आएका गगन थापासहितको टोलीलाई मुख्यमन्त्री शाहले त्यही संकेत गर्दै थापा समूहमा अहिले एक जना मात्रै रहेको स्पष्ट पारेका थिए । ‘आज तपाईंलाई जे–जति कुरा लागे पनि हिजो तपाईं र म एउटै टिममा लडेको हो, त्यसमा दिवानजी पनि हुनुहुन्थ्यो । त्यसपछि अहिले जुना दानी मात्रै हो । तपाईंहरूको समूहका सबै देउवा हुन्,’ त्यो बेला मुख्यमन्त्री शाहले भनेका थिए, ‘अरू सबै पदका लागि खेमा परिवर्तनतिर लागेका हुन् ।’ खेमा परिवर्तन गरेका मध्ये दुई जनाले मन्त्री पाउँदा अरू भने सांसद मै सीमित रहे ।