उचाई नाप्ने मान्छेहरू

उचाई नाप्ने मान्छेहरू


लीला अनमाेल,काठमाडौँ।

कविता
​​फेदमा बसेर
शिखरको उचाई नाप्ने मान्छेहरू
अक्सर बिर्सिदिन्छन्
उचाई आफैँमा कुनै गन्तव्य होइन।
​जति माथि पुग्छ रुख
त्यति नै नजिकिन्छ चट्याङसँग,
जति अग्लिन्छ हिमाल
त्यति नै एक्लिन्छ हुरीसँग।
​वास्तवमा
उचाई त एउटा कठोर परीक्षा हो
जहाँ पुगेपछि
निहुरिन सक्ने पहाड मात्रै बाँच्छ
र कडा चट्टान बनेको अहम्
पहिरो भएर आफ्नै फेदमा खस्छ।
​त्यसैले
सच्चा उचाई आकाश छुनेमा होइन
आकाश जत्रो भएर पनि
जमिन नबिर्सिने माटोको आयतनमा हुन्छ।