मन्त्री लम्सालको अभिव्यक्तिप्रति निर्माण व्यवसायी संघको आपत्ति

मन्त्री लम्सालको अभिव्यक्तिप्रति निर्माण व्यवसायी संघको आपत्ति


भैरहवा । लुम्बिनी निर्माण व्यवसायी संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीप्रति दिएको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मन्त्री लम्सालले सार्वजनिक कार्यक्रममा व्यक्त गरेको “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु” भन्ने अभिव्यक्तिले निर्माण व्यवसायीहरूलाई आक्रोशित, दुःखी तथा असुरक्षित महसुस गराएको उल्लेख गरेको छ ।

संघले निर्माण व्यवसायीहरू राष्ट्र निर्माणका प्रमुख साझेदार भएको उल्लेख गर्दै सडक, पुल, भवन, खानेपानी, सिँचाइ लगायतका पूर्वाधार विकासमा महत्वपूर्ण योगदान रहँदै आएको जनाएको छ । यस्तो अवस्थामा जिम्मेवार पदमा रहेका मन्त्रीबाट आएको अभिव्यक्तिले सम्पूर्ण निर्माण व्यवसायी समुदायको मानमर्दन गरेको र व्यवसायीहरूको सुरक्षामाथि समेत प्रश्न उठाएको संघको भनाइ छ ।

पत्रमा निर्माण क्षेत्र हाल जटिल आर्थिक तथा व्यावसायिक समस्याबाट गुज्रिरहेको उल्लेख गरिएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, आवश्यक सामग्रीको अभाव, बैंकिङ क्षेत्रमा बढ्दो ब्याजदर, श्रमिक अभाव, इन्धन तथा यातायात खर्च वृद्धि, सरकारी निकायबाट समयमै भुक्तानी नहुनु तथा मूल्य समायोजन नपाउनुजस्ता समस्याले निर्माण व्यवसायीहरू संकटमा परेको संघले जनाएको छ ।

विशेषगरी सम्पन्न भइसकेका आयोजनाको भुक्तानी महिनौँदेखि रोकिएको अवस्थामा राज्यले आफ्ना दायित्व पूरा गर्न नसकेको भन्दै सम्पूर्ण समस्याको दोष निर्माण व्यवसायीमाथि थोपर्न खोज्नु न्यायोचित नहुने संघको तर्क छ ।

संघले निर्माण क्षेत्रका वास्तविक समस्याको समाधान खोज्नुको सट्टा व्यवसायीहरूलाई धम्कीपूर्ण भाषामा सम्बोधन गरिएकोप्रति दुःख व्यक्त गर्दै यस्ता अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा नकारात्मक असर पार्ने जनाएको छ ।

निर्माण व्यवसायीहरूको सम्मान, सुरक्षा र पेशागत मर्यादा कायम राख्न तथा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न संघले जिल्ला प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।