पोखरा विमानस्थल प्रकरणमा ठूलो झड्का, पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

पोखरा विमानस्थल प्रकरणमा ठूलो झड्का, पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा


काठमाडौं। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा आर्थिक हिनामिना भएको अभियोगमा अदालतले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको जनाएको छ।

अदालतको आदेशमा मुद्दासम्बन्धी प्रमाणहरूको परीक्षण तथा मूल्याङ्कनका आधारमा अन्तिम फैसला हुने भएकाले हालका लागि प्रतिवादी गौतमलाई थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउन भनिएको छ।

अभियोगअनुसार, विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारी लगायतका पदाधिकारीहरूले इपिसी सम्झौताअन्तर्गत खर्च हुनुपर्ने करिब २८ लाख अमेरिकी डलर बराबरको रकम खर्च नगरी आयोजनाको लागत अस्वाभाविक रूपमा बढाएको आरोप छ। यसबाट प्राधिकरणलाई करिब ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ बराबरको नोक्सानी पुगेको दाबी गरिएको छ।

उक्त प्रकरणमा पूर्वमहानिर्देशक गौतममाथि पनि आर्थिक अनियमितता र हिनामिनामा संलग्न रहेको आरोप लगाइएको छ।