सुन तस्करीका लागि खोलिएका थिए ७ कम्पनी, दावा छिरिङ नेपाली व्यवस्थापक

सुन तस्करीका लागि खोलिएका थिए ७ कम्पनी, दावा छिरिङ नेपाली व्यवस्थापक


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ ।

२ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । यो समूहले ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए ।

त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको छ ।

यस्तै सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ ।

दावाले तस्कर समूहका नेपाली कारिन्दालाई व्यवस्थापन गर्ने जिम्मा लिएको पाइएको बताएको हो । सुन प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार, दावाले एलेक्स भनिने याओ पुचेङसँग मिलेर सुन तस्करीको समूहको नेपालमा व्यवस्थापन गरेका थिए ।