विश्वकपमा अस्ट्रियाको विजयी सुरुवात, जोर्डन पराजित

विश्वकपमा अस्ट्रियाको विजयी सुरुवात, जोर्डन पराजित


काठमाडौं । अस्ट्रियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । क्यालिफोर्निया लेभाइज स्टेडियम ‘सान्ता क्लारा’ मा बुधबार भएको समूह ‘एफ’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रियाले २१औं मिनेटमा अग्रता लिएको थियो । जाभेर स्लागरको पासमा रोमानो स्मिडले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा त्यही गोल निर्णायक बन्यो ।

दोस्रो हाफको ५०औं मिनेटमा अली ओलवानले गोल गर्दै जोर्डनलाई १–१ को बराबरीमा ल्याए ।

६७औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गरे पनि भिएआर परीक्षणपछि उक्त गोलले मान्यता पाएन । त्यसपछि ७६औं मिनेटमा जोर्डनका डिफेन्डर याजान अल–अरबले आत्मघाती गोल गरेपछि अस्ट्रियाले २–१ को अग्रता बनायो ।

इन्जुरी समयको १२औं मिनेटमा भिएआरमार्फत पेनाल्टी पाएपछि अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे ।यस जितसँगै अस्ट्रियाले समूह ‘एफ’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने जोर्डनले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।