दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज)बन्द गरेको घोषणा गरेको छ । तर अमेरिकी सेनाले भने जलमार्ग पूर्ण रूपमा खुल्ला रहेको र व्यापारिक जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ ।
शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा पनि नबित्दै भएको यो आक्रमणपछि इरानले कडा कदम चालेको बीबीसीले जनाएको छ ।
अमेरिकी सेनाको दाबी
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमहरूलाई बताएअनुसार शनिबार मात्र ५५ वटा व्यापारिक जहाजले होर्मुज जलडमरूमध्य प्रयोग गरेका थिए । उनले इरानले यो जलमार्ग नियन्त्रण गर्न नसक्ने स्पष्ट पारेका छन् । बीबीसीको भेरिफाइ अनुसार शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकर जलडमरूमध्य पार गरेका थिए भने केही जहाजहरूले बीचमै मार्ग परिवर्तन गरेका थिए ।
सम्झौता र अविश्वास
यसै साताको सुरुमा अमेरिकी र इरानी राष्ट्रपतिबीच युद्ध अन्त्य गर्ने उद्देश्यले प्रारम्भिक १४ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन, र आगामी ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गर्ने उल्लेख छ । तर दुवै पक्षबीच अझै अविश्वास कायम रहेको छ ।
शुक्रबार स्वीटजरल्याण्डमा युद्धविराम सम्बन्धी हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित भएको थियो ।
स्वीटजरल्याण्डमा प्रत्यक्ष वार्ता
तनावबीच आज स्वीटजरल्याण्डमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता हुँदैछ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ सहभागी हुने भएका छन् । जेडी भान्स शनिबार वाशिङ्टनबाट स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् भने इरानी अधिकारीहरू पहिल्यै पुगिसकेका छन् ।
वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविराममा प्रगति हुने अपेक्षा गरिएको छ । जेडी भान्सले इजरायल–लेबनान क्षेत्रमा हिंसा क्रमशः घट्दै गएको बताएका छन् । इरानका विदेश मन्त्रालय प्रवक्ता इस्माइल बाघेईले सम्झौता अनुसार सबै पक्षले प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका छन् ।
ट्रम्पको चेतावनी
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै अमेरिका–इरानबीच सहमति नभए अमेरिकाले होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजहरूमाथि शुल्क लगाउन सक्ने चेतावनी दिएका थिए ।
इरानी सेनाले सम्झौताको पहिलो बुँदा ९सबै क्षेत्रमा सैन्य कारबाही तत्काल रोक्ने० कार्यान्वयन नभएको आरोप लगाउँदै जलडमरूमध्य बन्द गर्ने निर्णयको बचाउ गरेको छ ।

प्रतिक्रिया