तुलसीपुर ।दाङको तुलसीपुर उपमहानगरपालिका–१३ गिदिनियामा आफ्नै घर नजिकको मकैबारीमा ६० वर्षीया महिलाको शव फेला परेको छ ।
मृतक तुलसीपुर–१३ की चेच्या चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको शव मंगलबार बेलुकी मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार शवमा कुनै बाहिरी चोटपटक वा घाउ नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकले मदिरा सेवन गरेको पनि प्रहरीले जनाएको छ ।
मृतक मंगलबार बिहान गाउँमा काम गर्न गएकी थिइन् । उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बेलुका शवलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगेको थियो । प्रहरी निरीक्षक हमालका अनुसार शवको पोस्टमर्टम बुधबार गरिने छ । मृतकका श्रीमान अम्मरराज चौधरीसहित परिवारका सदस्य घरमै रहेको बताइएको छ । तुलसीपुर–१३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृतक उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीकी माइली भाउजु हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया