रास्वपा महाधिवेशनमा मतदान सुरु हुन २ देखि ३ घण्टा लाग्छ – बुर्लाकोटी

रास्वपा महाधिवेशनमा मतदान सुरु हुन २ देखि ३ घण्टा लाग्छ – बुर्लाकोटी


काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदान सुरु हुन अझैँ २ देखि ३ घण्टा समय लाग्ने भएको छ ।

रास्वपा नेता कविन्द्र बुर्लाकोटीका अनुसार अहिले निर्वाचन आयोगले दाबी विरोधमाथि काम गरिरहेको बताउँदै उम्मेदवारको सूची फाइनल गरेर मतदान मेसिनमा राख्न समय लागेका कारण ढिला हुन गएको बताए ।

उनले केन्द्रिय सदस्यमा ३७० भन्दा बढीको उम्मेदवारी परेको र कतिपय डुब्लिकेसन भएकाले त्यसलाई सुल्झाउन समय लागेको बताए ।

‘केन्द्रीय सदस्यमा ३७० भन्दा बढी उम्मेदवारी, डुब्लिकेसन भएको छ । साथै, दाबी विरोधको कार्यक्रम जारी छ,’ उनले भने, ‘यो सबै सकाएर ८० भन्दा बढी डिभाइसमा लोड गर्न समय लाग्छ । त्यसैले करिब २ देखि ३ घण्टाको बीचमा मतदान सुरु हुनसक्ने अनुमान गरिएको छ ।’
उनले अरू पनि केही समस्या रहेकाले त्यसमा पनि काम भइरहेको बताए । पास नपाएकोलगायत समस्या देखिएपछि ३ वटा डेस्क खडा गरेर समस्या समाधान गरिरहेको उनको भनाइ छ ।

सभापतिमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको र प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक रहेको जानकारी उनले दिए ।