काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले आकर्षक प्लास्टिक बोतलमा प्याक गरिएको मोही बिक्री गरिरहेका छन् ।
डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको स्टलमा विभिन्न दुग्ध सहकारी तथा डेरीहरूले आफ्ना उत्पादन बिक्री गरिरहेका छन् । गर्मी मौसमका कारण विशेषगरी मोहीको माग उच्च रहेको डीडीसीका प्राविधिक संजीव यादवले बताए ।
उनका अनुसार मोहीलाई ‘ड्रिङ्किङ योगर्ट’ का रूपमा समेत प्रयोग गरिने भएकाले शरीरलाई शीतलता र हाइड्रेसन प्रदान गर्न मद्दत पुग्छ । त्यसैगरी केसरयुक्त फ्लेभर मिल्कप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ ।
महाधिवेशनको सुरुवाती दिनमा बिक्री ह्वात्तै बढेको थियो र हाल दैनिक औसत एकलाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ । संस्थानले उपभोक्ताको मागलाई ध्यानमा राख्दै सेवामूलक भावनाका साथ छुट मूल्यमा उत्पादनहरू उपलब्ध गराएको छ ।
उदाहरणका लागि, बजारमा ७० रुपैयाँ पर्ने मोही र केसर मिल्कलाई ६० रुपैयाँमा र ३१० रुपैयाँ पर्ने लालमोहन पेडालाई २९० रुपैयाँमा बिक्री गरिएको छ ।
यादवले भने, ‘चितवन गर्मी क्षेत्र भएकाले मोहीको माग अत्यधिक छ । फ्लेभर र केसर मिल्कको बिक्री पनि उल्लेख्य रूपमा भइरहेको छ । पहिलो दिन बिक्री निकै बढेको थियो भने अहिले पनि दैनिक एक लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।’
उनका अनुसार महाधिवेशनस्थलमा बिक्रीको माग बढेसँगै नजिकका आयोजना तथा केन्द्रबाट थप दुग्धजन्य पदार्थ मगाएर आपूर्ति गरिँदै आएको छ ।
यादवले प्रधानमन्त्रीको स्वदेशी उत्पादन प्रवद्र्धन अभियानले डीडीसीप्रति उपभोक्ताको आकर्षण बढाउन सहयोग पुगेको दाबी गरे ।
‘स्वदेशी उत्पादनको प्रवद्र्धन र ब्रान्डिङले उपभोक्ताको ध्यान डीडीसीतर्फ तानेको छ । यसले किसान, उपभोक्ता र संस्थान तीनै पक्षलाई फाइदा पुगेको छ,’ उनले भने ।
वर्तमान सरकारले स्वदेशी उत्पादनलाई दिएको प्रोत्साहन र ब्राण्डिङको प्रयासले उपभोक्ताहरू डीडीसीका उत्पादनहरूप्रति थप आकर्षित भएको यादव बताउँछन् । यस पहलले राज्यको जीडीपीमा योगदान पुर्याउनुका साथै किसानको भुक्तानीमा पनि केही हदसम्म सहजीकरण भएको उनले बताए ।
उनका अनुसार दुग्ध विकास संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको र यसले ग्रामीण किसानको दूध संकलन गरी प्रशोधन गरेर सस्तो मूल्यमा उपभोक्तालाई पुर्याउने उद्देश्य राखेको छ ।
यता धनकुटाका व्यवसायिक कृषक तथा जिल्ला दुग्ध सङ्घका अध्यक्ष नारायणबहादुर कटुवालले पनि महाधिवेशनमा डीडीसीका उत्पादनको बढ्दो बिक्रीलाई सकारात्मक रूपमा लिएका छन् । उनका अनुसार सरकारले स्वदेशी दुग्धजन्य उत्पादनको प्रचार–प्रसार गरेपछि बजारमा माग बढेको हो ।
कटुवालले हालको प्रवद्र्धनात्मक गतिविधि सकारात्मक भए पनि समग्र दुग्ध क्षेत्रमा देखिएका समस्याहरूप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । कटुवालले विदेशी पेय पदार्थहरू (कोक, फ्यान्टा) को तुलनामा स्वदेशी दुग्धजन्य उत्पादनहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको उल्लेख गर्दै यस्ता उत्पादनको बजार विस्तार गर्नुपर्नेमा जोड दिए ।
कटुवालले भने, ‘विदेशी पेय पदार्थको विकल्पका रूपमा नेपाली मोहीको प्रयोग बढ्नु सकारात्मक कुरा हो । अहिले ६० रुपैयाँमै मोही उपलब्ध भइरहेकाले उपभोक्ताले पनि रुचाएका छन् ।’
उनले डीडीसीले किसानको भुक्तानी समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । उनका अनुसार किसानको करिब ६ महिनाको भुक्तानी अझै बाँकी छ ।
‘डीडीसीको बजार विस्तार हुनु राम्रो हो तर किसानको भुक्तानी रोकिएर हुँदैन । सरकारले आवश्यक सहयोग गरेर बाँकी रकम तत्काल उपलब्ध गराउनुपर्छ,’ उनले भने ।
कटुवालले डीडीसीलाई दीर्घकालीन रूपमा सक्षम बनाउन सरकारबाट वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै किसान, दुग्ध उद्योग र उपभोक्ताको हितलाई ध्यानमा राखेर नीति अघि बढाउन आग्रह गरे ।
उनका अनुसार दुग्ध विकास संस्थानमा बजारको समस्या पुरानै हो । विगतमा बजार नहुँदा संस्थानले दूध खरिदमा कन्जुस्याई गर्ने र किसानको भुक्तानी ६ महिनासम्म बाँकी राख्ने गरेको तितो यथार्थ उनले पोखेका छन् । हाल सरकारले १०० दिनको टार्गेट राखेर १५–२५ दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि ५८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
‘सरकारले संस्थानको घाटा परिपूर्ति गर्न तुरुन्त रकम उपलब्ध गराउनुपर्छ । ५०–५० करोडको स्रोत भर्ना र एक अर्बसम्मको लगानी गरेर मात्रै संस्थानलाई र यहाँका हजारौं कृषकलाई बचाउन सकिन्छ,’ उनले भने ।
उनले केवल बिक्रीमा भर नपरी सरकारले संस्थागत संरचनालाई बलियो बनाउन तत्काल राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
रास्वपा महाधिवेशनमा सहभागी हजारौँ प्रतिनिधि तथा कार्यकर्ताको उपस्थितिबीच डीडीसीका उत्पादनको बढ्दो बिक्रीले स्वदेशी दुग्धजन्य वस्तुप्रतिको आकर्षण पुनः बढ्दै गएको संकेत गरेको छ ।
महाधिवेशनको भिडभाडमा स्वादिलो र स्वास्थ्यवर्धक मोही सहज रूपमा उपलब्ध हुनुले सहभागीहरूलाई त राहत दिएकै छ, साथै यसले नेपालको दुग्ध क्षेत्रमा भइरहेको व्यावसायिक रूपान्तरणको सकारात्मक सन्देश पनि प्रवाह गरेको छ । सहभागिहरुका अनुसार यस्ता स्टलहरूले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न र नेपाली डेरी उद्योगलाई आत्मनिर्भर बनाउन थप प्रेरणा दिने देखिन्छ ।

प्रतिक्रिया