काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी तयार गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वृद्धिको गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक नीतिगत छलफल कार्यक्रममा उनले मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्दै आर्थिक वृद्धि, मूल्य स्थिरता तथा समग्र आर्थिक सूचकहरूलाई ध्यानमा राखेर नीति निर्माण गरिने बताएका हुन् ।
उनले मौद्रिक नीतिको सम्पूर्ण विवरण सार्वजनिक गर्न नसकिने स्पष्ट पार्दै राष्ट्र बैंकले आफ्ना लक्ष्य, नीति प्रसारण प्रणाली (ट्रान्समिसन मेकानिज्म) र विभिन्न आर्थिक सूचकहरूको आधारमा नीति तर्जुमा गरिरहेको बताए ।
‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीति र वित्तीय नीति सँगसँगै अघि बढ्नुपर्छ । आर्थिक वृद्धिलाई सहयोग गर्ने मात्र होइन, अन्य आर्थिक सूचकहरूलाई पनि सन्तुलित अवस्थामा राख्ने दायित्व राष्ट्र बैंकको हो,’ उनले भने ।
डेपुटी गभर्नर पण्डितले पछिल्लो समय मौद्रिक नीतिप्रति अत्यधिक अपेक्षा बढेको उल्लेख गर्दै नीति कार्यान्वयनसँगै अपेक्षाको व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको बताए । उनले नियामकीय सुधारहरू नियमित प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिँदै मौद्रिक नीतिमाथि अनावश्यक दबाब सिर्जना गर्न नहुने धारणा राखे ।
उनले सेजनजस्ता मञ्चबाट हुने छलफलले राष्ट्र बैंकलाई नीति निर्माणका लागि महत्वपूर्ण सुझाव प्राप्त हुने बताए । यस्ता छलफल वर्षको एक पटक मात्र नभई वर्षभरि विषयगत रूपमा सञ्चालन हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘क्रेडिट रेटिङ, कर्जा पुनर्संरचना, निर्देशित कर्जा, पूँजी निर्माण, वित्तीय पहुँचलगायत विषयमा निरन्तर छलफल हुनुपर्छ । यस्ता छलफलबाट प्राप्त सुझावले नीति निर्माणलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ ।’
पण्डितले डिजिटल बैंकिङ, फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा वित्तीय ठगी नियन्त्रण जस्ता नयाँ चुनौतीहरूलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।
उनले नीति निर्माता र सर्वसाधारणबीच केही दूरी देखिएको स्वीकार गर्दै वास्तविक किसान, युवा उद्यमी तथा व्यवसायीका समस्या नीति निर्माण तहसम्म पुग्नुपर्ने बताए ।
‘नीति निर्माण गर्ने तहसम्म वास्तविक आवाज पुग्नु आवश्यक छ । किसान, युवा, व्यवसायी र तल्लो तहका नागरिकका समस्या नीति निर्माणमा प्रतिबिम्बित हुनुपर्छ । मिडिया र यस्ता छलफलले यही दूरी कम गर्ने काम गर्छन्,’ उनले भने ।

प्रतिक्रिया