विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार तेस्रो पटक म्याद थप गर्दै उनलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो । विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

यसअघि विशेष अदालतले असार ९ गते पहिलो पटक ७ दिन र असार १५ गते दोस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धानका लागि हिरासत अवधि थपिएको छ ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

यता, हिरासतमा राख्ने आदेशपछि पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । हाल न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले पौडेलको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन रहेका व्यापारी दिपक भट्ट, सुलभ अग्रवाललगायतविरुद्धको सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर तथा बीमासम्बन्धी कसुरका मुद्दाका फाइल झिकाउन आदेश दिएको थियो । ती फाइलहरू इजलासमा देखाएर पुनः फिर्ता लैजाने व्यवस्था मिलाई पेस गर्न पनि अदालतले निर्देशन दिएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार ११ गते विपक्षीका नाममा कारण देखाउन आदेश जारी गरेको थियो ।